हेटौंडामा निःशुल्क वृहत् योगविज्ञान पाँचदिने शिविर हुने
हेटौंडा- पतञ्जली योग समितिअन्तर्गत महिला पतञ्जली योग समिति मकवानपुरले हेटौंडामा पाँचदिने निःशुल्क वृहत् योगविज्ञान शिविर सञ्चालन गर्ने भएको छ ।शिविर यही जेठ ३ गतेदेखि ७ गतेसम्म हेटौंडा–४ स्थित लोकतान्त्रिक चौर (हुप्राचौर) मा प्रत्येक बिहान ४ः३० बजेदेखि ६ः३० बजेसम्म सञ्चालन गरिने आयोजकले जनाएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा पतञ्जली योग समिति मकवानपुरका अध्यक्ष रामकृष्ण थापाले शिविरबारे जानकारी दिँदै आधुनिक जीवनशैली, तनाव र अव्यवस्थित खानपानका कारण नसर्ने रोग तीव्ररुपमा बढिरहेको अवस्थामा योगलाई जनस्तरसम्म पु¥याउन शिविर आयोजना गरिएको बताएका छन् ।
उनकाअनुसार ‘घरघरमा योग, जनजनमा योग, सबै निरोग, सदा निरोग’ भन्ने नारासहित पतञ्जली योग समिति विगत २०६४ सालदेखि मकवानपुरका विभिन्न पालिकामा निःशुल्क योग अभियान सञ्चालन हुँदै आएको छ । शिविरमा मुख्य प्रशिक्षककारुपमा साद्वी देवादिति रहने छिन् । हरिद्वारस्थित पतञ्जलि योगपीठबाट सन्यासग्रहण गरेकी देवादितिले योग, आयुर्वेद, प्राकृतिक चिकित्सा तथा आध्यात्मिक शिक्षामा विशेष दक्षता हासिल गरेकी हुन् । आयोजकका अनुसार उनले योगमार्फत् स्वस्थ जीवनशैली, मानसिक शान्ति र सकारात्मक सोच विकासका विषयमा प्रशिक्षण दिनेछिन् ।
कार्यक्रम हेटौंडा उपमहा नगरपालिका–४ वडा कार्यालयको सहकार्यमा सञ्चालन हुन लागेको हो । सहप्रायोजकका रुपमा थर्डआइ एजुकेशनल सेन्टर प्रालिले सहयोग गरेको जनाइएको छ । आयोजकले योगलाई केवल शारीरिक अभ्यास नभई पूर्ण जीवनपद्धति, मानसिक अनुशासन र सकारात्मक जीवन दर्शनकारुपमा लिन आग्रह गरेका छन् । शिविरमा शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी, व्यवसायी, सञ्चारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारणलाई उत्साहपूर्वक सहभागी भई स्वास्थ्य लाभलिन आयोजकले आग्रह गरेको छ । पत्रकार सम्मेलनमा समितिका नगरअध्यक्ष रघु आचार्य, युवा अध्यक्ष जयराम पुलामी, कार्यक्रम संयोजक राजन थापालगायतको उपस्थिति थियो।







