आइतबारको बिदा कार्यान्वयन गर्न विद्यालयलाई कडा निर्देशन

साझाकुरा
२०८३ जेष्ठ ३, आईतवार १२:४३

हेटौंडा-हेटौंडा उपमहानगरपालिकाले शैक्षिक सत्र २०८३ देखि हप्तामा दुईदिन सार्वजनिक बिदा कार्यान्वयन गर्न सामुदायिक तथा संस्थागत विद्यालयलाई निर्देशन दिएको छ ।
उपमहानगरको शिक्षाशाखा मार्फत जारी पत्रअनुसार अब सबै विद्यालयमा शनिबार र आइतबार अनिवार्य बिदा रहने तथा अन्य दिन नियमित पठनपाठन सञ्चालन गरिने भएको हो । नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ चैत २२ गतेको निर्णय तथा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षा तथा मानव स्रोत विकास केन्द्रको निर्देशनअनुसार यो व्यवस्था लागू गर्न लागिएको जनाइएको छ । उपमहानगरपालिकाले विद्यालयलाई वार्षिक तथा स्थानीय बिदाको अवधि ५० दिनबाट घटाएर ३० दिन कायम गर्न, सोहीअनुसार शैक्षिक क्यालेन्डर तथा वार्षिक कार्यतालिका निर्माण गर्न निर्देशन दिएको छ ।

प्रथम र द्वितीय त्रैमासिक परीक्षा नियमित पठनपाठनकै दिनमा सञ्चालन गर्नुपर्ने र वार्षिक परीक्षाका लागि शैक्षिक सत्रको अन्तिम १२ दिन उपयोग गर्नुपर्ने उल्लेख गरिएको छ । पत्रमा शुक्रबारका दिन समुदाय तथा पारिवारिक क्रियाकलाप, सूचना प्रविधिमा आधारित परियोजना तथा प्रयोगात्मक कार्यसञ्चालन गरी विद्यार्थीलाई प्रस्तुतीकरणको अवसर दिनुपर्ने व्यवस्था पनि गरिएको छ । विद्यालय समयबाहेक सञ्चालन हुने जीवनोपयोगी सीप, व्यवहारिक दक्षता तथा शिक्षक–विद्यार्थी प्रत्यक्ष सहकार्यमा आधारित सिकाइ गतिविधिलाई समेत सम्बन्धित विषयको वार्षिक कार्यघण्टामा गणना गरी मूल्यांकन गर्न सकिने जनाइएको छ ।उपमहानगरपालिकाले थप जानकारी तथा सहजीकरणका लागि मन्त्रालय र शिक्षा तथा मानव स्रोत विकास केन्द्रका वेबसाइट तथा सम्बन्धित निर्देशिका अध्ययन गर्न विद्यालयलाई आग्रह गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*