मकवानपुरे ‘इकु’ चलचित्र कलाकार संघको सदस्य निर्वाचित

साझाकुरा
२०८३ जेष्ठ ५, मंगलवार ११:५०

हेटौंडा- मकवानपुरे कलाकार सुलेमान शंकर ‘इकु’ नेपाल चलचित्र कलाकार संघको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न संघको निर्वाचनबाट इकु केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । लामो समयदेखि नेपाली चलचित्र तथा हास्यव्यंग्यक्षेत्रमा सक्रिय ‘इकु’को विजयलाई मकवानपुरका कलाकारको उपस्थितिकारुपमा हेरिएको छ । नेपाली चलचित्र तथा हास्यव्यंग्य क्षेत्रमा ‘इकु’ परिचित नाम हो । उनी विशेषगरी आफ्नो चर्चित पात्र ‘इकु’ मार्फत् नेपाली दर्शकमाझ लोकप्रिय बनेका हुन् । हास्य अभिनय, सामाजिक व्यंग्य र मौलिक प्रस्तुतीकरणका कारण उनले नेपाली मनोरञ्जन क्षेत्रमा छुट्टै पहिचान बनाएका छन् ।

मकवानपुरसँग सम्बन्ध राख्ने ‘इकु’ लामो समयदेखि रंगमञ्च, टेलिभिजन कार्यक्रम, म्युजिक भिडियो तथा चलचित्र क्षेत्रमा सक्रिय छन् । उनले अभिनय गरेको ‘इकु’ र ‘इकु २’ जस्ता चलचित्रले निकै सफलता पाएका थिए । यसमा उनको ‘ईकु ईताङ पिताङ’ संवाद निकै चर्चित भएको थियो । सुरुका दिनमा हास्य टेलिशृंखला र स्टेज कार्यक्रममार्फत् दर्शकमाझ पुगेका उनले पछि चलचित्र क्षेत्रमा पनि आफ्नो अभिनय क्षमता स्थापित गरेका हुन् । उनले अभिनय गरेका विभिन्न हास्य कार्यक्रम तथा चलचित्र ग्रामीण जीवन, सामाजिक व्यवहार र जनजीवनसँग नजिक हुने भएकाले दर्शकले सहजरुपमा मन पराउने गरेका छन् । उनको संवादशैली, शारीरिक हाउभाउ र व्यंग्यात्मक प्रस्तुतीकरणलाई नेपाली हास्य क्षेत्रमा फरक स्वादकारुपमा लिइन्छ ।

संघको अध्यक्षमा उत्तम केसी निर्वाचित भएका छन् । केसी २१६ मत प्राप्त गर्दै अध्यक्षमा विजयी भए । उनका प्रतिस्पर्धी सविन श्रेष्ठले १३२ मत प्राप्त गरे । निर्वाचनमा कुल ३५६ मत खसेको थियो । महिला उपाध्यक्षमा पूजना प्रधान १४४ मतसहित विजयी भएकी छन् । यस्तै उपाध्यक्षमा शिवहरि बैरागी १४६ मतसहित विजयी भएका छन् । महासचिवमा सुनील कटुवाल १९५ मतसहित विजयी भए । सचिवमा गोपाल ढकाल २१४ मत प्राप्त गर्दै विजयी भएका छन् । कोषाध्यक्षमा तेजुला खतिवडा १४९ मतसहित विजयी हुँदा सहकोषाध्यक्ष पदमा पवन केसी १६१ मतसहित विजयी भएका छन् । सदस्यहरु सुलेमानसहित इन्द्रबहादुर लामा, चन्द्रकला दाहाल, चन्द्रकला राई, छुल्ठिम गुरुङ, जीवन थापा, दमन रुपाखेती, नवीनकुमार श्रेष्ठ, रश्मि भट्ट र श्रीदेव भट्टराई निर्वाचित भए ।

यसमा तपाइको मत

Your email address will not be published.


*