गणेशमान सिंह मार्ग निर्माणमा तीब्रता

साझाकुरा
२०७८ माघ २, आईतवार ११:४१

हेटौंडा-मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने ‘गणेशमान सिंह मार्ग’को नामले परिचित चन्द्रागिरि सडकको स्तरोनतीमा तीब्रता दिइएको छ ।  बितेको एक वर्षको अवधिमा थानकोटबाट दुई हजार ५ सय मिटरदेखि ८ हजार २५० मिटरसम्मको सडकको ‘ट्रयाक क्लियर’ भइसकेको छ । यस अवधिमा ३ हजार १६० मिटर सडकमा मेसिनरी वाल उठाउने, ३ हजार ४२० मिटर सडकसम्म डाउन गर्ने, ३ हजार ५८० मिटर सडकसम्म २ मिटर माटो भर्ने, ३ हजार ७८० मिटरसम्म ढिस्को काट्ने, पहिरो हटाउने, खोल्सीको मोडलाई २५ मिटरको रेडियसमा घुमाउनेलगायतको काम भएको छ ।

रक कटिङ गर्नेदेखि सेतो पहरालाई समेत छिचोलेको छ । यस्तै ७ हजार ९ सय मिटर सडकमा २२ मिटर अगाडि अर्को मोड बनाएर ढिस्को कटिङ गरेर नमूना प्राकृतिक वालसमेत निर्माण गरिएको छ । नेपाल सरकारको २०६९ जेठ ११ को निणर्यले यो मार्गलाई सहायक मार्गमा वर्गीकरण गरिएको छ । यो सडक काठमाडौं थानकोट चेकपोस्टबाट सुरु भई, पानीघाट, चन्द्रागिरी भन्ज्याङ, चित्लाङ, नारायणहिटी, बिसिङखेल, नौखण्डे सम्म रहेको छ । २२ दशमलव ५ किमि लम्बाइ रहेको यो सडकको काठमाडौंतर्फ ८ दशमलव ३ किमि र मकवानपुरतर्फ १४ दशमलव २ किमि पर्छ ।

सडक स्तरोन्नतिका लागि २०७०÷०७१ देखि छुट्टै कार्यालय स्थापना गरी काम अघि बढाइएको थियो । किराँतेश्वर कन्स्ट्रक्सन एन्ड ड्रिलिङ कम्पनीले २०७३ साउन १७ गते सम्झौता गरी काम अघि बढाएको थियो । कम्पनीले थानकोट चेकपोस्टदेखि चन्द्रागिरि भन्ज्याङसम्म ६ करोड रुपैयाँ लागतमा ठेक्का लिएको थियो । भौगोलिक कठिनाइ र अनावश्यक विवादका कारण काममा केही ढिलाइ भए पनि पछिल्लो समय रफ्तारमा काम भइरहेको निर्माण कम्पनीले बताएको छ ।

यो मार्गले ऐतिहासिक महत्व बोकेको छ । चन्द्रागिरि सडकसँग पृथ्वीनारायण शाहको एकीकरण अभिलाशादेखि राणाहरुको सवारीसाधन बोकेर ल्याउने साइनो जोडिएको छ । तत्कालीन सांसद
रामलाल श्रेष्ठको पहल र चित्लाङका अगुवा बाबुकाजी मानन्धरलगायतको अग्रसरतामा स्थानीयले विसं २०१८ सालदेखि २०२३ सालसम्म पाँच वर्ष लगातार श्रमदान गरेर ट्रयाक खोलेका थिए ।
२०७१ सालमा विस्तृत परियोजना प्रतिवेदन तयार गरी  स्तरीकरण सुरु गरिएको यो सडकको अहिले काठमाडौंतर्फको काम  भइरहेको छ । विभिन्न कारणले बारम्बार सडक निर्माण अवरुद्ध भएपछि गत वर्ष ११ साउनमा तत्कालीन प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलको उपस्थितिमा मकवानपुरको थाहा नगरपालिका ९ स्थित चित्लाङमा बृहत् जनसहभागितामा सरोकार समिति गठन गरिएको थियो ।

सडक निर्माणले लय समातेपछि स्थानीय पनि खुसी  छन् । त्यसो त सडक सरोकार समितिलाई थाहा नगरपालिकाको बज्रबाराही, टौखेल, कलाँटु, बिसिड्डेल, चित्लाङलगायतका स्थानीयले आर्थिक सहयोग समेत गरिरहेका छन् । विगतमा दैनिक २ देखि ३ घण्टा मात्रै सडक बनाउने गरिएकोमा पछिल्लो एक वर्षयता बिहान ६ बजेदेखि राति ८ बजेसम्म काम हुँदै छ । समितिले कामलाई तीव्रता दिन र मेसिनको हेरचाहका लागि तीन जना स्थानीयलाई राति कार्यस्थलमा खटाएको छ । यो सडक निर्माणमा सभासद सुभाषचन्द्र ठकुरीको सक्रियता बढ्दो छ । विगत एक वर्ष यता ठकुरी दिनहुँजसो निर्माण स्थलमा पुगेर निरीक्षण गर्ने र प्रगति  विवरण लिने गरेका छन् । आर्थिक विकासको सहयोगमा ।

यसमा तपाइको मत

Your email address will not be published.


*