मकवानपुरमा एकैदिन १ सय ७६ कोरोना संक्रमित थपिए
हेटौंडा-मकवानपुरमा पछिल्लो २४ घण्टामा एकैदिन १ सय ७६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार ५ सय ४६ जनाको कोरोना परीक्षण गर्दा १ सय ७६ जनामा पुष्टि भएको हो । कार्यालयको तथ्याड्ढअनुसार विगत २४ घण्टामा पीसीआर तथा एन्टिजेन विधिबाट ५ सय ४६ जनाको कोरोना जाँच गर्दा १ सय ७६ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ४ जना संक्रमण मुक्त भएका छन् ।
सभासम्मेलन र शैक्षिक संस्था पूर्णरुपमा बन्द
कोरोना संक्रमणको दर दिनप्रतिदिन बढ्दै गएपछि मकवानपुरका शैक्षिक संस्थाहरुमा पनि भौतिक उपस्थितिमा पठन पाठन बन्द गरिएको छ । सभा, सम्मेलन, गोष्ठि सेमिनारलगायत गर्दा २५ जनाभन्दा बढी भीडभाड नगर्न भनिएको छ र स्वास्थ्य सुरक्षाका मापदण्ड अवलम्वन गर्न समेत आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले कुनै पनि भेला, जुलुस, आमसभा जस्ता मानिसको भीडभाड हुने गतिविधिलाई माघ मसान्तसम्म रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सोमबार एक विज्ञप्ति जारी गर्दै कुनै पनि सभा, सम्मेलन जुलुस, आमसभालगायत भीडभाडजन्य कुनैपनि गतिविधिलाई माघ मसान्तसम्म रोक लगाउदै १६ बुँदे आदेश जारी गरेको हो ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेद्वारा जारी विज्ञप्तिमा जिल्लामा कोरोनाको भेरिएन्ट ओमिक्रोन \ भाइरसका बिरामी बढेसँगै १६ बुँदे आदेश जारी गरिएको उल्लेख गरिएको छ। कोरोना संक्रमणको जोखिम दिनप्रतिदिन बढ्दै गएपछि स्वास्थ्य सुरक्षाको मापदण्ड अवलम्वन गर्न पनि आम मकवानपुरवासीमा आग्रह गरिएको छ ।
उच्च जोखिममा समावेश
मकवानपुर जिल्ला कोरोना भाइरस संक्रमणको उच्च जोखिममा समावेश भएको छ । मकवानपुरमा ५ सयभन्दा बढी सक्रिय कोरोना संक्रमित संख्या पुगेसँगै सरकारले मकवानपुरलाई उच्च जोखिम भएको जिल्लाको सूचीमा राखेको हो । सोमबार साँझसम्ममा मकवानपुर ५ सय ६९ जना सक्रिय कोरोना संक्रमित पुगेको छ । पछिल्लो २४ घण्टामा मकवानपुरमा १ सय ७६ जनामा कोरोना पुष्टि भएको छ । २४ घण्टामा मकवानपुरमा दुईजना कोरोना संक्रमित बिरामीको मृत्यु भएको स्वास्थ्य कार्यालय मकवानपुरले बताएको छ । २४ घण्टाकै अवधिमा ४ संक्रमीत उपचारपछि संक्रमण मुक्त भएका छन् । मधेश प्रदेश र सडक सञ्जालसँग जोडिएको जिल्ला भएका कारण मकवानपुरमा कोरोना संक्रमितको संख्या बढेको अनुमान गरिएको छ ।
मन्त्री लामा दिनदिनै अस्पताल अनुगमनमा
बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामा कोरोना संक्रमण दर बढेसँगै न्यूनीकरणका लागि भइरहेको तयारी बुझ्न अस्पताल–अस्पतालमा पुगेका छन् । शनिबार र आइतबार काभ्रे, सिन्धुपाल्चोक पुगेका मन्त्री लामाले सोमबार भक्तपुर अस्पताल र जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रको निरीक्षण गरेका हुन् । उनले अस्पतालले कोरोना संक्रमण रोकथाम, नियन्त्रण एवम् उपचारमा गरिरहेको कामबारे निरीक्षण गरेका छन् । जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रले प्रवाह गरिरहेको उपचार सेवाबारे समेत मन्त्री लामाले निरीक्षण गरेका थिए ।
निरीक्षणपछि मन्त्री लामाले पछिल्लो समय कोरोना संक्रमितको संख्या बढिरहेकाले उपचारका लागि प्रतिवद्ध भएर लाग्न निर्देशन दिए । उनले मन्त्रालय कोरोना संक्रमणको जोखिम न्यूनीकरण, रोकथाम एवं संक्रमितहरुको उपचारमा दृढ रहेको भन्दै मन्त्रालयले सबै खाले व्यवस्थापन गर्नेमा ढुक्क हुन निर्देशन दिए । मन्त्री लामालाई भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतम र जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रका प्रमुख डा. नरेन्द्र गिरीले स्वास्थ्य संस्थाले गरिरहेका तयारी र नियमित कामबारे अवगत गराएका थिए ।







