३६ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित
हेटौंडा-मंगलबार एकैदिन ३६ जना स्वास्थ्यकर्मी कोरोना भाइरस संक्रमित भएका छन् । हेटौंडा अस्पतालमा कार्यरत ३६ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालका सदस्य उत्सव चौलागाईंका अनुसार संक्रमित हुनेमा ४ जना डाक्टर, ११ जना नर्स, अन्य स्वास्थ्यकर्मीसहित ल्याबका १३ जना, प्रशासनिक र कार्यालय सहयोगीहरु ८ जना रहेका छन् ।
३६ जनामा संक्रमण पुष्टि भएपनि तीन सय भन्दा बढी कर्मचारी भएपनि १० बजेदेखि १ बजे सम्म ओपीडि सेवा सञ्चालन गर्ने रणनीति बनाइएको चौलागाईंले बताए । मकवानपुरमा कोरोनाको संक्रमणको संख्या बृद्धि भइरहेको अवस्थामा आकस्मिक भएमा मात्र अस्पताल आउन उनले आग्रह गरेका छन् । ‘हामीलाई माघ महिनाभर अस्पतालको सेवामा केहि समस्या उत्पन्न भए तापनि विभिन्न प्राइभेट अस्पताल तथा स्थानीय तहहरुमा कार्यरत स्वास्थ्यकर्मीहरु परिचालन गराउनको लागि सम्बन्धित निकायलाई जानकारी गरी आवश्यक पहल गरिनेछ ।’ उनले भने ।
२ सय ८५ संक्रमित थपिए
मकवानपुरमा मंगलबार थप २ सय ८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना महामारी सुरु भएयता जिल्लामा सबै भन्दा धेरै कोरोना संक्रमण मंगलबार पुष्टि भएको हो । २४ घण्टामा पिसिआर तथा एन्टिजेन विधिबाट ३ सय ८८ जनाको कोरोना जाँच गर्दा २ सय ८५ जनामा संक्रमण पुष्टि भएको हो । बुधबार थपिएका २ सय ८५ संक्रमितसँगै मकवानपुरमा १६ हजार ३ सय ७८ जनामा कोरोना देखिएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा ४ जना संक्रमणमुक्त भएका छन् ।
खोप अभाव नभएको स्वास्थ्य मन्त्रीको दाबी
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले नेपाल सरकारसँग चार करोड डोज कोरोनाको खोप मौज्दात रहेको जानकारी दिएका छन् । पछिल्लो तथ्याड्ढअनुसार समग्र जनसंख्याका आधारमा ४० प्रतिशतले खोप लगाएका छन् । खोपको दुई डोज लगाउने नागरिक ६० प्रतिशत छन् । सरकारले खोप अभाव नरहेको बताए पनि नागरिक भने खोपको पहुँचभन्दा बाहिर छन् । अझै पनि ४० प्रतिशत नागरिक खोपबाट बञ्चित छन् । छुटेकालाई खोप दिने तथा बढी भिडभाड हुने क्षेत्रमा नियमित खोप सञ्चालन गर्ने तयारी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्री खतिवडाले कोभिड–१९ विरुद्ध खोप अभियान उच्च प्राथमिकताका साथ सञ्चालन भइरहेको जानकारी दिए । उनले खोप अभियान सात वटै प्रदेशमा तालिका बनाएर अझ प्रभावकारी रुपमा सञ्चालन गर्ने सरकारको नीति रहेको बताए । स्वास्थ्य मन्त्री खतिवडाले खोप पर्याप्त मौज्दात रहेकाले कुनै पनि समस्या नरहेको र छुटेकाहरुलाई लगाउन आग्रह गरे । छुटेकाहरुका लागि नियमित खोप कार्यक्रमसँगै बुस्टर डोज खोपको अभियान यसैहप्तादेखि सुरु भएको छ । काठमाण्डौका १७ ठाउँबाट आजदेखि अग्रपंक्तिमा खटिनेलाई खोपको बुस्टर मात्रा दिन थालिएको छ ।
स्वास्थ्य कार्यालय काठमाण्डौका प्रमुख शम्भु काफ्लेका अनुसार आठवटा सरकारी र नौ वटा निजी गरी १७ अस्पतालबाट बुस्टर डोज खोप दिन थालिएको हो । बुस्टर मात्रा लगाउन यसअघि खोप लगाएको कम्तीमा ६ महिना पूरा हुनुपर्नेछ । यस्तै, यसअघिको खोप कार्ड पनि अनिवार्य लैजानुपर्नेछ । आउँदो १४ गतेदेखि ६० वर्षभन्दा माथिकालाई बुस्टर मात्रा दिने सरकारको तयारी छ । पहिला जुन खोप लगाइएको थियो बुस्टर पनि त्यहि खोप लगाउनुपर्छ । रोकथाम, उपचार एवं नियन्त्रण गर्न आवश्यक तयारी गरिसकेको भन्दै मन्त्री खतिवडाले होल्डिङ सेन्टर निर्माण गर्ने र अस्पतालमा आईसीयू, भेन्टिलेटरको व्यवस्थासँगै धेरै अस्पतालमा अक्सिजन प्लान्ट स्थापना भइसकेको बताए ।







