हेटौंडाको मेयरबाट महतले लिए बिदार्ई
हेटौंडा-२०७४ सालको स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयरमा निर्वाचन भएर कार्यकाल पूरा गरेपछि हरिबहादुर महतले बिदाई लिएका छन् ।स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत् नयाँ मेयर चुन्न मतगणना जारी रहँदा बिहीवार कार्यालयमा आयोजित एक कार्यक्रममा महतलाई बिदाई गरिएको हो । उपमहानगरपालिका कार्यालय अगाडिको सिद्धार्थ माविमा भइरहेको मतगणनाले सम्भवतः आज शुक्रबारसम्म नयाँ मेयर पाउने छ ।
त्यसको अघिल्लो दिन अर्थात् बिहीवार नै महतसहित कार्यपालिकाका सदस्यहरुलाई बिदाई गरिएको हो । महतले एमालेबाट निर्वाचन लड्दै गत निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै मेयरमा निर्वाचित भएका थिए । उनले यसवर्ष पनि मेयर हुने इच्छा देखाएका थिए । तर, पार्टी नेतृत्वले अनन्तप्रसाद पौडेललाई मेयरको टिकट दिएको थियो ।हेटौंडा उपमहानगरपालिकामा एक कार्यक्रम आयोजना गरी वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु र अवकास प्राप्त कर्मचारीहरुलाई बिदाई गरिएको हो । उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईंले मायाको चिनो, खादा र टीका लगाएर महतसहित कार्यपालिका सदस्य र कर्मचारीहरुहरुलाई बिदाई गरेका हुन् । बिदाईमा बोल्दै मेयर महतले सबैको सहयोगबाट पाँच वर्षको कार्यकाल सफल बनाउन सकिएको धारणा राखे । उनले कार्यपालिका र नगरसभाको निर्णय कार्यान्वयन गर्न सहयोग गरेकोमा कर्मचारीलाई धन्यवाद दिएका छन् ।







