थाहानगरमा नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र

साझाकुरा
२०७९ जेष्ठ ६, शुक्रबार ११:०९

हेटौंडा – मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिका र मकवानपुरगढी गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र दिइएको छ ।सम्बन्धित पालिकामा रहेको निर्वाचन कार्यालयले स्थानीय तह निर्वाचनमा विजयी भएका पालिकाको मेयर÷अध्यक्ष, उपमेयर÷उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यहरुलाई निर्वाचित भएको प्रमाणपत्र दिइएको हो ।निर्वाचनमा मकवानपुरगढी गाउँपालिकामा बिहीवार निर्वाचन अधिकृतको कार्यालय मकवानपुरगढीले गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष, वडा अध्यक्ष र वडाका सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरेको हो । गाउँपालिकाको कार्यबाहक अध्यक्ष हर्कमाया रुम्बाको प्रमुख अतिथ्यता तथा निर्वाचन अधिकृत नारनप्रसाद पोखरेलको अध्यक्षतामा कार्यक्रममा भएको थियो ।

निर्वाचित गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङतान, उपाध्यक्ष मानकुमारी नेपाली पाख्रिन, १ नम्बरका वडा अध्यक्ष आइतसिं लो, २ नम्बरका वडा अध्यक्ष बखान सिं पाख्रिन, ३ नम्बरका वडा अध्यक्ष भागवत घिमिरे, ४ नम्बरका वडा अध्यक्ष अर्जुनप्रसाद दाहाल, ५ नम्बर वडा अध्यक्ष दिपेश दहाल, ६ नम्बरका वडा अध्यक्ष कृष्ण बजगाईं, ७ नम्बरका वडा अध्यक्ष सूर्यबहादुर रुम्बा र ८ नम्बरका वडा अध्यक्ष कुमार घिसिङलाई प्रमाणपत्र दिइएको हो ।

प्रमाणपत्र वितरण कार्यक्रममा नेपाली कांग्रेसका गाउँ सभापति राजवीर मुक्तान, नेकपा (एकीकृत समाजवादी)का पालिका अध्यक्ष अर्जुनप्रसाद दाहाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष राजकुमार खड्काले समग्र गाउँपालिकाको विकासमा अग्रसर रहने जनप्रतिनिधिलाई राजनीतिक दलकोतर्फबाट साथ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रममा बोल्दै निर्वाचित अध्यक्ष र उपाध्यक्षले जनताको मनोभावनाअनुरुप काम गर्ने र प्रतिवद्धतामा उल्लेख भएका योजनालाई कार्यान्वयन गर्दै अगाडि बढ्ने बताए ।

यसैगरी, थाहा नगरपालिकामा विजयी प्रमुख, उपप्रमुखसहित १२ वडाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्थानीय निर्वाचन कार्यालयले बिहीबार प्रमाणपत्र प्रदान गरेको हो । निर्वाचन अधिकृत तिर्थराज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचनमा प्रमुख पदका प्रत्यासी अच्युत्तमप्रसाद ढकाल, कार्यवाहक प्रमुख खड्गबहादुर गोपाली, निवर्तमान प्रमुख लवशेर विष्ट, प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीलगायतको उपस्थिति थियो । नवनिर्वाचित थाहा नगरका प्रमुख विष्णुबहादुर विष्टले सबै राजनीतिक दलसँगको सहकार्यमा काम गरेर विकासमा हातेमालो गर्ने बताए ।

विष्टले नगरको सबै वडाको वस्तु स्थितिको ज्ञान भएको र सबै वडाहरुको भौगोलिक अवस्था बुझेकोले समानता भन्दा पनि न्यायोचित विकासमा केन्द्रीत हुने बताएका छन् । विष्टले थाहा नगरको उत्कृष्टतालाई कायम राख्न आफू निरन्तर लागि पर्ने बताए । ‘लोकतन्त्रको सुन्दर पक्ष भनेको निर्वाचन हो, स्थानीय तह निर्वाचनमा सबै उम्मेदवारहरुलाई मतदान गर्ने नगरका २३ हजार ५६ जना मतदाता प्रति हार्दिक आभार व्यक्त गर्दछु’, उनले भने । उनले नगरको विकासका लागि पार्टीले निर्वाचनका क्रममा तयार गरेको घोषणपत्रअनुसार शिक्षा, कृषि, पर्यटन क्षेत्रको विकास र नगरमै रोजगारीको अवस्था सृजना गर्नका लागि नीतिगत योजना बनाई अगाडि बढ्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*