अतिविपन्न १५४१ परिवारलाई निःशुल्क बिमा, बिजुली र पानी
हेटौंडा -राजनीतिक दलहरुले निर्वाचन जित्न मतदातालाई अनेकौं सपना बाँडेर कार्यान्वयन नगरेको सुनेका छौं ।३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा पनि दलहरुले अनेक सपना बाँडेर मत मागेका थिए । हेटौंडाको मेयर र उपमेयरमा उम्मेदवारी दिएपछि गठबन्धनले मतदातामा निःशुल्क बिजुली, खानेपानी, बिमा गरिदिने प्रतिबद्धता राखेको थियो । गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)की मिनाकुमारी लामाले मेयर र नेपाली कांग्रेसका राजेश बानियाँले उपमेयरमा निर्वाचन पनि जिते ।
अन्तिम मतपरिणामले गबठन्धनका उम्मेदवारको विजय निश्चित भएपछि सामाजिक सञ्जालमा निःशुल्क बिजुली र पानीलाई लिएर निक्कै टिक्का टिप्पणीपनि भएका थिए । निःशुल्क बिजुली र पानी दिन सम्भव कसरी भन्दै सामाजिक सञ्जालमा कतिपयले प्रश्नपनि उठाएका थिए । तर, ती सबैको जवाफ सोमबार नवनिर्वाचित मेयर लामाले दिएकी छन् । हेटौंडा उपमहानगरपालिकाको मेयरमा पदभार सम्हालेसँगै लामाले पहिलो निर्णय गर्दै नगरभित्रका अतिविपिन्न घरपरिवारलाई निःशुल्क स्वास्थ्य बिमा, बिजुली र पानी दिने निर्णय गरेकी छन् । सोमबार बिहान मुख्य निर्वाचन अधिकृत डिल्ली रत्न श्रेष्ठबाट पद तथा गोपनीयताको सपथ लिएपछि लामाले पाँच बुँदे लोकप्रिय निर्णय गरेकी हुन् । मेयर लामा र उपमेयर बानियाँले सपथ खाएपछि पदभार सम्हाल्नु अघि हेटौंडा–११ मा रहेको सहिद स्मारकमा पुगेर सहिदहरुको प्रतिमामा माल्यापर्ण गर्दै उपमहानगरपालिका आएकी थिइन् । गत निर्वाचनमा उपमेयर भइसकेकी लामाले आफूलाई पाँच वर्षको अनुभवले काम गर्न सहज हुने बताउँदै आएकी थिइन् ।
जनताको मनोभावना बुझेकी लामाले पहिलो निर्णय नै नगरबासीको हितमा गरेकी छन् । पहिलो महिला मेयरका रुपमा निर्वाचित भएकी उनले पहिलो चरणमा नगरभित्रका अतिविपन्न १ हजार ५ सय ४१ घर परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिने, मासिक १५ हजार लिटर खानेपानी र २५ युनिट बिजुली निःशल्क उपलब्ध गराउने निर्णय गरेकी हुन् ।आर्थिक अवस्थाका कारणले शिक्षा हासिल गर्नबाट बञ्चित विद्यार्थीहरुलाई प्रोत्साहन र सौहुलियत दिन ‘मेयर छात्रवृत्ति कार्यक्रम’ सञ्चालन गर्ने निर्णय गरिएको लामाले जानकारी दिइन् ।
महिला जागरण समूहमार्फत लैंगिक हिंसाविरुद्धका अभियानहरु सञ्चालन गर्दै पीडित, प्रभावित महिला तथा बालबालिकाका लागि अल्पकालिन आश्रयस्थल (सेफ हाउस)मार्फत प्रभावकारी पुनःस्र्थापनाको कार्य गर्ने निर्णय भएको छ । लामाले सडक निर्माण गर्दा सडकको बीचमै रहेका विद्युतका पोलाई किरानामा स्थापना गर्ने निर्णयपनि गरेकी छन् ।जनप्रतिनिधिले लिए सपथ
हेटौंडा, ९ जेठ÷३० वैशाखमा भएको स्थानीय तह निर्वाचनबाट विजयी भएका हेटौंडा उपमहानगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुले सपथ लिएका छन् । पल्पसा सभाहलमा आयोजित कार्यक्रममा मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले उपमहानगरपालिकाका मेयर लामालाई सपथ गराएका हुन् ।
लामाले उपमेयर बानियाँसहित १९ वटै वडाका वडा अध्यक्ष र वडा सदस्यहरुलाई पद तथा गोपनीयताको सपथ गराएकी छन् । सपथग्रहण कार्यक्रममा बोल्दै मेयर लामाले हेटौंडालाई समृद्ध नगर बनाउन सबैको सहयोग आवश्यक रहेको बताएकी छन् ।चुनावमा पराजित भएकाहरुले पनि जितेको महसुस गर्नका लागि आग्रह गर्दै उनले भनिन्, ‘प्रतिपक्षी दलको घोषणापत्र र हाम्रो घोषणापत्रलाई लिएरसँगै काम गछौं ।,’ कार्यक्रममा उपमहानगरपालिकाका निवर्तमान मेयर हरिबहादुर महतले हेटौंडामा निर्वाचित सबै जनप्रतिनिधिहरुलाई बधाइ ज्ञापन गरे ।
पाँच वर्षसम्म नगरको सेवा गर्ने अवसर प्रदान गरेकोमा उनले नगरवासीलाईसमेत धन्यवाद दिए । कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तान, संविधानसभाका सदस्य प्रल्हाद लामिछाने, गोविन्दराम चेपाङ, शेरबहादुर पहरी, प्रदेशसभा सदस्य मुनु सिग्देल, प्रेमबहादुर पुलामीलगायतको आतिथ्यता थियो ।







