बलात्कारसम्बन्धी कानुनको पुनरावलोकन गर्न डिनाको माग
हेटौंडा – नेपाली कांग्रेसको केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्यक्ष ‘डिना’ले बलात्कार र घरेलु हिंसासम्बन्धी कानुनको पुनरावलोकन गर्न माग गरेकी छन् ।मकवानपुरे कांग्रेस नेतृ डिनालगायतको महिला नेताहरुको टोलीले काठमाडौंमा पत्रकार सम्मेलन गरी बलात्कार जस्तो जघन्य अपराधको मुद्दामा हदम्याद राख्न नहुने बताएका हुन् । सहमहामन्त्री डिनालगायतले बलात्कार र लैंगिक हिंसासम्बन्धी कानुनको पुनरावलोकन गर्न सरकार समक्ष माग राखेका हुन् । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि बलात्कारसन्बन्धी कानुनमा हदम्याद हटाउन सरकार तयार रहेको बुधवार प्रतिक्रिया दिएका थिए । डिनाले लामो समयदेखि निरन्तर प्रयास गरेपनि लैंगिक हिंसा र बलात्कारसम्बन्धी घटना नरोकिएको भन्दै चिन्ता व्यक्त गरिन् ।
घरेलु हिंसा र बलात्कारका घटना नियन्त्रणमा नआएको भन्दै डिनाले यसबारे थप छलफल गरेर दोषीलाई कडा सजायको व्यवस्था गर्नुपर्नेमा जोड दिइन् । बलात्कारको मुद्दामा उजुरीमै लाग्ने हदम्यादको व्यवस्थालाई सच्याउनुपर्ने उनको भनाई छ । हदम्यादका कारण पीडित महिला तथा बालिकाहरुले न्याय पाउन नसक्ने अवस्था आउन भएकोले यो राम्रो नभएको उनले बताइन् । ‘वर्तमान कानुनी व्यवस्थामा पुनरावलोकन गरी कडा सजायसहितको व्यवस्था राखेर संशोधन गर्नुपर्छ ।,’ डिनाले भनेकी छन् ।
यसैगरी, डिनालगायतका कांग्रेस महिला नेताहरुले संविधानको व्यवस्थाबमोजिम अहिलेसम्म पनि आमाको नामबाट नागरिकता पाउने अवस्था नबनेको भन्दै सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने माग राखे । यसैगरी, स्थानीय तहमा नीति कार्यक्रम र बजेटमा महिला लक्षित कार्यक्रम, स्वास्थ्यमा महिलाको सहज पहुँच र महिलालाई विभिन्न अवस्थामा परेका असरबारे सरकारलाई ध्यानाकर्षण गराइने उनले बताएकी छन् ।







