वृद्धावृद्धालाई आश्रय दिने आश्रमकै कन्तबिजोग

साझाकुरा
२०७९ जेष्ठ १५, आईतवार ११:१९

हेटौंडा -हेटौंडामा वृद्धवृद्धालाई आश्रय दिने आश्रमकै कन्तबिजोग भएको छ । सहर नजिकका आश्रमलाई सहयोग जुटिरहँदा टाढाको आश्रम समस्यामा परेका छन् ।हेटौंडा उपमहानगरपालिका–१९ मा रहेको सर्वेश्वर महादेव मन्दिर वृद्धाश्रमको अवस्था नाजुक छ । त्यहाँ आश्रय लिइरहेका ज्येष्ठ नागरिकको अवस्था झन् दयनीय छ । खाना बनाउन चुल्हो समेत नहुँदा आश्रित भोकै बस्नुपर्ने अवस्था छ । एक सय वर्षकी कलावती कठायतले भनिन्, ‘पानी पर्दा खाना बनाउन सकिंदैन, कति रात बिस्कुट खाएर सुत्यौँ ।,’

१२ वर्षदेखि आश्रय लिइरहेकी कठायतले दुःखेसो गरिन् । आश्रमको भान्साकोठामा निर्माण सामग्री राखिएको छ । र, भान्सा कोठाबाहिर तीनवटा ढुंगा राखेर चुलो बनाएर खाना बनाउने गरेको २३ वर्षदेखि आश्रम बसिरहेका ७५ वर्षीय रामेश्वर घलेले बताए । उनी भन्छन्, ‘पहिला ग्यास चुलो थियो । ५–६ महिना भयो न ग्यास सिडिन्डर छ, न ग्यास चुलो । दुई छाक खान मुुस्किल छ ।’दुई छाक खान पाउन मुश्किल छ भने उनीहरुले पोषणयुक्त खानेकुरा पाउनु त धेरै टाढाको कुरा । शौचालयको पनि उस्तै समस्या छ । आश्रमका संरचना समेत ज्येष्ठ नागरिकमैत्री छैन । ज्येष्ठ नागरिकलाई हुनुपर्ने हेरचाह र स्याहार त छैन नै स्वास्थ्य उपचारको समेत व्यवस्था छैन ।

उनीहरुको गुनासो छ– ‘हामीलाई केही तलमाथि भइहाले पनि हेरचाह गर्ने कोही छैन । हामी मृत्यु कुरेर बसिरहेका छौं ।’ र, व्यवस्थापन समितिले चासो नदिएको गुनासो पनि गरे । आश्रम व्यवस्थापन समितिका अध्यक्ष यदुकुमार पाठकले भने वृद्धवद्धाले खान नपाएको कुरालाई अस्विकार गरे । उनी भन्छन्– ‘आश्रमको आम्दानी छैन । धेरै काम गर्न सकिएको छैन । हाम्रो आयश्रोत कतै छैन ।
आयश्रोत नभई काम गर्न नसकिएको चाहि स्वीकार गरेका छन् । आश्रममा जम्मा दुई जना वृद्धवृद्धा छन् । उनीहरुलाई दुई छाक दिन पनि समितिले सकिरहेको छैन । वृद्धवृद्धाले खानै दिएन भनेर गुनासो मात्रै गर्ने गरेको भन्दै अध्यक्ष जंगिए । उनले भने, ‘अब म चलाउन सक्दिन । राजीनामा दिन्छुु।,’

यसमा तपाइको मत

Your email address will not be published.


*