मनहरीमा विपद् व्यवस्थापन समितिको सबै संरचनालाई सक्रिय बनाइने
हेटौंडा- मकवानपुरको मनहरी गाउँपालिकाको विपद् व्यवस्थापन समितिको वडा तहको संरचनालाई सक्रिय बनाइने भएको छ ।गाउँपालिका स्तरीय विपद् व्यवस्थापन समितिको बैठकले ९ वटै वडामा वडाध्यक्षको नेतृत्वमा सरोकारवाला निकायहरु सदस्य रहने समितिलाई पुनर्गठन गरी सक्रिय बनाउने निर्णय गरेको हो । गाउँपालिका अध्यक्ष एबम् विपद् व्यवस्थापन समितिका अध्यक्ष रन्जन कालाखेतीको अध्यक्षतामा बसेको बैठकले विपद्का बेला आश्रय लिन मिल्ने सुरक्षित स्थानहरुको पहिचान गरी गाउँपालिकास्तरिय समितिमा पठाउन पनि सबै वडास्तरीय विपद् व्यवस्थापन समितिलाई अनुरोध गरेको छ । त्यसैगरी वडास्तरमा आवश्यक पर्ने बिपद् न्यूनिकरणका लागि सुरक्षा सामग्री र उपकरणहरुको माग गर्न समेत वडास्तरीय समितिलाई आग्रह गर्ने निर्णय गरेको छ ।
बैठकले मनहरी गाउँपालिका ९ स्थित जंगलेश्वर महादेव मन्दिर छेउबाट राप्ती नदिले कटान गरी मनहरी ९ को ज्यामिरे र ८ को सिमपानीका बस्तीहरुमा नदीको पस्न सक्ने जोखिमलाई मध्यनजर गर्दै उक्त क्षेत्रमा थुप्रिएको ग्रेवल निकालेर स्टोर गर्नका लागि जिल्लास्तरीय बिपद् व्यवस्थापन समितिलाई आग्रह गर्ने निर्णय समेत गरेको छ ।
त्यसैगरी मनहरीको स्वास्थ्य सेवाको सुधारका बारेमा समेत छलफल भएको थियो । बिपद्का बेला महामारी आउन सक्ने भएकाले त्यसबेला स्वास्थ्य संस्थाको सुदृढ अबस्था निर्माणका लागि छलफल भएको थियो ।







