जिसस मकवानपुरमा गठबन्धनको प्यानल नै विजयी
हेटौंडा- जिल्ला समन्वय समिति (जिसस) मकवानपुरमा गठन्धनद्वारा ‘क्लिन स्वीप’ भएको छ । बिहीवार भएको जिसस निर्वाचनमा गठबन्धनको प्यानल नै विजयी भएको छ ।
जिससमा अघिल्लो निर्वाचनबाट एमालेको प्यानल नै निर्वाचित भएका थिए । त्यसको पाँच वर्षपछि ठिक उल्टो हुँदै जिसस निर्वाचनबाट एमाले ‘क्लिन स्वीप’ भएको हो । जिसस प्रमुखमा ललितबहादुर घलान निर्वाचित भएका छन् । उनले १७ मत ल्याए । उनका प्रतिद्वन्द्वी एमालेका उम्मेदवार बुद्धिराम डिम्डुङले ३ मत मात्रै पाए ।
जिसस निर्वाचनमा कुल २० मतमध्ये गठबन्धनसँग १७ मत र नेकपा एमालेसँग ३ मत मात्रै थियो । जिसस प्रमुखमा विजयी नेकपा माओवादी केन्द्रका घलान यसअघि हेटौंडा–१२ का वडा अध्यक्ष थिए । प्रमुखमा निर्वाचित ३० वैशाखमा भएको निर्वाचनमा दोस्रो पटकका लागि उनी वडा अध्यक्षमा विजयी भएका थिए । हेटौंडाको १९ वडामध्ये घलान माओवादी केन्द्रबाट चुनाव जित्ने एकमात्र थिए ।
उनले राजिनामा दिएपछि हेटौंडामा अब माओवादी केन्द्रका वडा अध्यक्ष छैन् । वडा अध्यक्षमा निर्वाचन जितेको एक महिनापनि नबित्दै उनी जिसस प्रमुख बनेका हुन् । घलान वडा अध्यक्ष छोडेपछि जिल्लाका १० पालिका प्रमुखहरुको पनि प्रमुख बने । गठबन्धनको भागबण्डामा जिसस प्रमुख माओवादी केन्द्रले पाउने भएपछि पार्टीले उनलाई वडा अध्यक्षबाट राजिनामा गराएर जिसस निर्वाचनमा भिडाएको हो । घलान भद्र र सालिन नेताका रुपमा परिचित छन् ।
जिसस उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका सानुकाजी लुइटेल विजयी भएका छन् । लुइटेल निर्विरोध निर्वाचित भएका हुन् । उपप्रमुखमा अन्यको उम्मेदवारी परेको थिएन् । एमालेले निर्वाचन हार्ने देखेपछि उपप्रमुखसहित अन्य पदमा पनि उम्मेदवार उठाएको थिएन् । एमालेबाट प्रमुखमा डिम्डुङसहित महिला सदस्य र खुला सदस्यमा एक–एक जना मात्रै उम्मेदवार थिए । जिससको महिला सदस्यमा गठबन्धनबाट नेपाली कांग्रेसकी तारा ढुंगाना, विष्णुमाया थपलिया र सुमित्रा थिङ निर्वाचित भएका छन् । उनीहरु सबैले १७÷१७ मत ल्याएका छन् । नेकपा एमालेबाट उम्मेदवारी दिएकी बिना कुमारी थिङ लामा ३ मत ल्याउँदै पराजित भइन् ।
खुला सदस्यतर्फ ३ जना सदस्यमा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका वीरेन्द्र कुमार लामाले १६, नेकपा माओवादी केन्द्रबाट खड्क बहादुर पुलामीले १७ र सुवर्ण गोपालीले १७ मत ल्याएर विजयी भएका छन् । खुला सदस्यमा उम्मेदवारी दिएका नेकपा एमालेका तोयानाथ तिमल्सिना ३ मत ल्याएर पराजित भए । यसैगरी, दलित सदस्यमा नेकपा एकीकृत समाजवादीबाट सुनिता दर्नाल परियार निर्विरोध निर्वाचित भएकी हुन् । उनको एकल उम्मेदवारी परेको थियो । जिसस मकवानपुर ९ सदस्यीय हुनेछ ।
नवनिर्वाचित प्रमुख, उपप्रमुखदेखि सदस्यहरुले बिहीवार नै पद तथा गोपनीयताको सपथ लिएका छन् । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जिसस प्रमुख घलानलाई सपथ ग्रहण गराएका थिए ।
घलानले उपप्रमुख लुइटेलसहित अन्य सदस्यहरुको सपथ ग्रहण गराएका हुन् । सपथ लिएपछि आफ्नो धारणा राख्दै घलानले सबैसँगको सहकार्यमा आगामी कार्यकाल सफलता पूर्वक सञ्चालन गर्ने प्रतिबद्धता जनाए । धेरै लामो सम्बोधन नगरी उनले निर्वाचनमा सहयोग पु¥याउने सबैलाई धन्यवाद व्यक्त गरे । जिसस मकवानपुरका नवनिर्वाचित प्रमुख घलानलाई निवर्तमान प्रमुख रघुनाथ खुलालले जिम्मेवारी हस्तान्तरण गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै खुलालले नवनिर्वाचित जिसस सदस्यहरुलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिए । उनले जिससको नेतृत्वलाई जिल्लाको ढुंगा, गिट्टी र बालुवाको अवस्था थप पेचिलो बन्दै गएको भन्दै ध्यानाकर्षण गराएका थिए । जिससको धेरै महत्वपूर्ण जिम्मेवारी रहनेभन्दै अघिल्लो कार्यकालमा शुन्यबाट हालको स्थितिसम्म ल्याउन निकै कठिनाई भएको बताए । सथप ग्रहण कार्यक्रममा बागमती प्रदेशका सांसद प्रेमबहादुर पुलामी, हेटौंडाको नगर प्रमुख मिनाकुमारी लामा, गाउँपालिका अध्यक्षहरु, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, गाउँपालिका अध्यक्षलगायतको आतिथ्यता थियो ।







