चुरे दिवसमा अबसरमा वृक्षरोपण
हेटौंडा-आठौं चुरे दिवसको अवसर पारेर हेटौंडा उपमहानगरपालिका, बागमती र बकैया गाउँपालिकामा वृक्षरोपण गरिएको छ ।हेटौंडाको १४ र १५ नम्बर वडाको चुरियामाई सामुदायिक वन ईलाका, बागमती तथा बकैया गाउँपालिकाअन्तर्गत् चुरे संरक्षण क्षेत्रमा बिहीवार गोरख बहादुर गण, सुपारेटार ब्यारेक हेटौडाको आयोजनामा वृक्षरोपण भएको हो ।
राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति र जिल्ला वन कार्यालय मकवानपुरको समन्वयमा एक दिनमा एकलाख विरुवा वृक्षरोपण गर्ने कार्यक्रम अनुसार गणले विरुवा रोपेको हो । गणका गणपति प्रमुख सेनानी सुभाष चन्द्र महतको कमाण्डमा १ सय २० वटा नफ्रिको टोलीले निम, राजवृक्ष, जामुन, हर्रो, बर्रो, अमला, गुलमोहरलगायत विभिन्न प्रजातिका एक हजार विरुवाहरुको वृक्षरोपण गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको प्रमुख आतिथ्यतामा हेटौंडामा भएको वृक्षरोपण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सुरेन्द्रबहादुर गुरुङ, सशस्त्र प्रहरी बल नेपाल नं. १४ गणका सशस्त्र प्रहरी उपरीक्षक नेत्रबहादुर कार्की, राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक पप्पु शर्मा पौडेल, सामुदायिक वनका पदाधिकारीलगायत सरोकारवाला निकायहरुको उपस्थिति थियो । बिहीवार परेको आठौं चुरे दिवसको अवसरमा देशभर वृक्षरोपण कार्यक्रम भएको हो ।







