विद्यार्थीदेखि जनप्रतिनिधिलाई विपद् व्यवस्थापन तालिम
हेटौंडा- मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिकामा विद्यार्थीदेखि जनप्रतिनिधिसम्मलाई विपद् व्यवस्थापन तालिम प्रदान गरिएको छ । तालिममा विपद् व्यवस्थापनको बिषयलाई विद्यालय सुधार योजनामा एसआइपीमा समाबेश गरी सुरक्षित विद्यालय अवधारणालाई कार्यान्वयन गर्न शिक्षक, विद्यार्थी, अभिभावक, वडाका जनप्रतिनिधिलाई सहजीकरण गरिएको थियो । मनसुन सुरु भएसँगै प्राकृतिक विपद्लाई उचित ढंगबाट व्यवस्थापन गर्न विद्यार्थी, शिक्षक, अभिभावक र वडाका जनप्रतिनिधिलाई तालिम दिइएको हो ।
मनहरी–४ मसिनेस्थित पशुपतिनाथ माविमा केन्द्रीय आयोजना कार्यान्वयन ईकाइको आयोजनामा चार दिनेसम्म तालिम भएको हो । तालिममा एसियाली विकास बैंकका कन्सल्ट्यान्टकातर्फबाट सुरेश नाथले तालिममा सहजीकरण गरेका थिए । डा. सदस्य दिनेश चेपाङको प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समितिका सदस्य मंगलबहादुर मोक्तानको सभाध्यक्षतामा तालिम समापन भएको छ । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष माधब गौतम, विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्य, शिक्षक राचन्द्र तिमल्सिना, ईश्वर रिजालले तालिममा सिकेका बिषयलाई तालिममा मात्रै सीमित नराखी ब्यवहारमा उतार्ने प्रतिवद्धता ब्यक्त गरे ।
विद्यालयका शिक्षक ६ जना, विद्यार्थी ८ जना, विद्यालय ब्यवस्थापन समितिसहित अभिभावक ६ जना, शिक्षक अभिभावक संघका प्रतिनिधि ३ जना, वडाका जनप्रतिनिधि ३ जना तालिममा सहभागी थिए ।विद्यालय समिति अध्यक्ष गौतमको संयोजकत्वमा सुशील गौतम, मीरा खत्री, ऋषिराम गौतम, मंगलबहादुर मोक्तान, मनोज चौलागाई सुस्मिता जिम्बा, सजल गौतम, रितेश बिष्ट, ईश्वर रिजाल सदस्य रहेको विद्यालय बिपद् ब्यवस्थापन समिति पनि गठन गरिएको छ ।समितिले विद्यालयको स्रोत नक्सांकनसहित बिपद् ब्यवस्थापन योजना निर्माण पनि गरेको छ ।







