उद्योगसँग सम्बन्धित सरोकारवालासँग अन्तक्र्रिया
हेटौंडा- बागमती प्रदेशको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मकवानपुर उद्योग वाणिज्य संघको सहकार्यमा उद्योग क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरुसँग अन्तक्र्रिया गरेको छ । वर्तमान समयमा उद्योगहरुको अवस्थाको विषयमा सरोकारवालहरुसँग छलफल भएको हो । कार्यक्रममा हस्तकला उद्योगमा ठूलो रोजगारीको सम्भावना रहेको, औद्योगिक क्षेत्रको बिस्तारको लागि पूर्वाधार निर्माणमा तीव्र गतिमा काम हुनुपर्ने, उद्योगको लागि सरकारी सेवाहरु एकद्वार प्रणालीबाट हुनुपर्ने, प्रदेश सरकारको बजेट प्रस्तुतिअघि उद्योगी व्यवसायीहरुसंग अन्तक्र्रिया गर्नुपर्ने, स्वदेशी उत्पादनलाई प्राथमिकतामा राख्नुपर्ने, तयारी बस्तुभन्दा कच्चा पदार्थको भन्सार दर न्यून हुनुपर्नेलगायत विषयहरुमा चर्चा गरिएको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मन्त्रलायका सचिव विश्वबाबु पुडासैनीको अध्यक्षता थियो ।
कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री रजनी अमात्य जोंन्छेको विशिष्ट आतिथ्यता, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ताको आतिथ्यता र प्रदेशस्तरका उद्योगसंग सरोकारवाला संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता थियो । कार्यक्रममा उद्योग संघ मकवानपुरका अध्यक्ष स्वागतराज प्याकुरेलले उद्योगका विषयमा प्रस्तुतिकरण दिएका थिए । त्यसैगरी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, बागमती प्रदेश सरकारका अधिकृत किशोर सापकोटाले उद्योग क्षेत्रसँग सम्बन्धित ऐनद्वारा व्यवस्था गरिएको विभिन्न सुविधाहरुलगायतका विषयमा प्रस्तुतिकरण दिएका थिए ।







