मकवानपुरमा २० प्रतिशत मात्रै धान रोपाई
हेटौंडा-कृषि उत्पादनमा उल्लेख्य योगदान गर्दै आएको मकवानपुरमा हालसम्म २० प्रतिशत मात्रै धान रोपाई भएको छ ।बागमती प्रदेशका १३ जिल्लामा हालसम्म ४३ प्रतिशत मात्रै धान रोपाई भएकोमा मकवानपुरमा २० प्रतिशत धान रोपाई भएको हो । वर्षा र रासायनिक मल अभावका कारण प्रदेशमा पर्याप्त मात्रामा धान रोपाई हुन नसकेको हो ।
बागमती प्रदेशमा पछिल्लो केही वर्ष यता धान उत्पादन क्रमिक रुपमा घट्दो रहेको छ । कृषि पेसाप्रति किसानको घट्दो आकर्षण र सरकारको अस्पष्ट नीतिले धानको उत्पादन घट्दै गएको देखिन्छ । ग्रामिण क्षेत्रका अधिकांश जग्गा बाँझै राखेकाले धान उत्पादनमा गिरावट आएको हो ।
प्रदेशका अधिकांश जिल्ला पहाडी क्षेत्रमा रहेको र पर्याप्त मात्रामा सिँचाइको सुविधा नभएकाले वर्षामा नै निर्भर हुनुपर्ने बाध्यता रहेको छ । वर्षामा निर्भर हुनुपर्ने बाध्यता कारणपनि ग्रामिण क्षेत्रका पहाडी क्षेत्रमा धान रोपाई हुन छाडेको हो । मकवानपुरका अधिकांश क्षेत्र पहाडी भूभाग छन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, मनहरी, मकवानपुरगढीमा धान रोपाई हुने गरेको छ । बागमती, राक्सिराङ, इन्द्रसरोबर, कैलाश गाउँपालिकामा वर्षाको पानीबाट रोपाई गर्नुपर्ने बाध्यता किसानलाई छ ।
बागमतीमा आर्थिक वर्ष २०७७÷०७८ मा ५ लाख ९ हजार ५ सय ९० मेट्रिक टन धान उत्पादन भएकोमा थियो भने आर्थिक वर्ष २०७६÷०७७ मा ५ लाख १० हजार २०० मेट्रिक टन, २०७५÷०७६ मा ५ लाख २१ हजार ४ सय ४६ मेट्रिक टन धान उत्पादन भएको थियो । तर, यसवर्ष धान रोपाई कम भएमा उत्पादनमा पनि गिरावट आउने निश्चित छ । पहाडी क्षेत्रमा साउन भित्रपनि वर्षाको पानीले रोपाई हुने गरेको छ ।बागमती प्रदेशको कृषि तथा पशुपन्छी मन्त्रालयका अनुसार प्रदेशका १३ जिल्लामा ५१ हजार ३ सय हेक्टर क्षेत्रफलमा मात्र रोपाई भएको हो । जसमा कुल क्षेत्रफलको ४३ प्रतिशत मात्र हुन आउँछ । प्रदेशको १३ जिल्ला मध्ये सबैभन्दा धेरै काठमाडौँमा रोपाई भएको छ भने सबैभन्दा कम कम धादिङमा भएको छ । काठमाडौँमा ८० प्रतिशत भएको छ ।
धादिङमा ११ प्रतिशत मात्र रोपाई भएको छ । ललितपुरमा ७५ प्रतिशत, भक्तपुरमा ७० प्रतिशत, दोलखामा ५० प्रतिशत र रामेछापमा ३५ प्रतिशत धान रोपाई भएको मन्त्रालयले जनाएको छ ।यसैगरी, हालसम्म काभ्रेमा ६१, रसुवामा ५५, सिन्धुलीमा ४५, नुवाकोटमा ४५ सिन्धुपाल्चोक र चितवनमा समान ४०–४० र मकवानपुरमा २० प्रतिशत क्षेत्रफलमा रोपाई सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता झलकनाथ कँडेलले जानकारी दिएका छन् । बागमती प्रदेशमा कूल धान उत्पादन हुने क्षेत्र १ लाख २० हजार ५ सय हेक्टर जमिनको ९० प्रतिशतमा धान खेती हुने गरेको प्रवक्ता कँडेलले बताए ।







