सार्वजनिक स्थानको सेवा सुधारमा ‘फाईभ एस’ को पहल
हेटौंडा- हेटौंडाको सार्वजनिक स्थानको खानेपानी तथा शौचालय सुधारको लागि सार्वजनिक सेवा सुधार संघर्ष समिति (फाइफ एस) ले पहल गरेको छ । यसअघि जिल्लाको विभिन्न सार्वजनिक निकायको सेवा सुधारको लागि पहल गर्दै आएको ‘फाईभ एस’ ले मंगलबार दुई वटा सार्वजनिक स्थलमा निरीक्षण गरेको छ । फाइभ एसले शिक्षणमा उत्कृष्ट रहेको आधुनिक राष्ट्रिय मावि र जिल्ला मालपोत कार्यालयको खानेपानी र शौचालयको साथै क्यान्टिनको सुधारको लागि पहल गरेको हो ।
फाइभ एसबाट समाजसेवी दीपेन्द्रचन्द ठकुरीको नेतृत्वमा गएको युवाहरुको समूहले शिक्षामा अब्बल रहेको आधुनिक माविको खानेपानी र क्यान्टिन मध्यम स्थितिमा रहेको जनाएको छ । ‘त्यस्तो राम्रो पनि होइन, नराम्रो पनि होइन । मध्यम वर्गमा विद्यालयको खानेपानी, क्यान्टिन र शौचालय सञ्चालन भइरहेको पाइयो । हामीले विद्यालयमा पानी शुद्धिकरण गरेर पिउने, जंक फूड नराख्ने र शौचालय सफा राख्ने काम गर्न आग्रह गरेका छौै’, चन्दले भने । उनले आफूहरुले हेटौंडा खानेपानी व्यवस्थापन बोर्डसँग हेटौंडामा रहेका सबै विद्यालयहरुको खानेपानी परीक्षण गर्न आग्रह गरेको बताए ।
ठकुरीका अनुसार बोर्डका अध्यक्ष प्रताप विष्ट र प्रमुख सुदर्शन ढकालले सामुदायिक तथा सरकारी विद्यालयको पानी निःशुल्करुपमा परीक्षण गर्ने प्रतिबद्वता जनाएका छन् । तर, नीजि विद्यालयको पानीको परीक्षण गर्न भने २५ सय रुपैयाँ शुल्क तिर्नुपर्ने उनको भनाइ छ । ठकुरीले बोर्डले फाइभ एसले सार्वजनिक स्थलको सेवा सुधारको लागि गरेको पहलको प्रशंसा गर्दै धन्यावाद् दिएको बताए ।
उनले मंगलबार नै आफूहरुले जिल्ला मालपोत कार्यालयको सेवा प्रवाहको अवस्था निरीक्षण गर्न पनि पुगेको बताए । दैनिक रुपमा अत्यन्तै सेवाग्राहीको चाप हुने उक्त कार्यालयको शौचालय दयनीय अवस्थामा रहेको उनको भनाइ छ । ‘मालपोत कार्यालयको शौचालय दयनीय अवस्थामा रहेको थियो भने पानी पनि शुद्धिकरण गर्ने व्यवस्था नरहेको हामिले पायौं । पार्किङदेखि वृद्ववृद्वा, अपाड्डता भएका व्यक्ति तथा अशक्तको लागि पनि उचित व्यवस्थापन देखिएन’, उनले भने । ठकुरीले कार्यालयको यी सबै कुराको व्यवस्थापन गर्दै व्यवस्थित ढंगले सेवाग्राहीलाई सेवा दिन आफूहरुले आग्रह गरेको बताए ।







