हेटौंडा क्याम्पस प्रकरणः कार्यालय सहयोगी निलम्बित

साझाकुरा
२०७९ श्रावण ५, बिहीबार ०९:३४

हेटौंडा- स्नातक तह दोस्रो वर्षको परीक्षा दिन हेटौंडा क्याम्पस पुगेका चार जना छात्रामाथि भएको दुव्र्यवहारको घटनामा पीडित र क्याम्पस प्रशासनबीच सहमति भएको छ ।
क्याम्पसले महिला कार्यालय सहयोगीबाट भएको घटनाप्रति क्षमा मागेर उनीहरुलाई निलम्बन गरेपछि पीडित छात्राको परिवार, विद्यार्थी संगठन र क्याम्पस प्रशासनबीच बुधवार सहमति भएको हो । घटना मंगलबार दिउँसोको हो ।१२ बजेदेखि सुरु हुने परीक्षामा मकवानपुर बहुमुखी क्याम्पसबाट आएका ३ जना छात्रालाई गेटमा जाँच गर्न बसेका कार्यालय सहयोगीहरुले चिट ल्याएको भन्दै पाइन्ट खोल्न लगाए भने एक जना छात्रालाई महिनावारी भएकोले ‘प्याड’ लगाएको बताउँदासमेत उनीहरुले ‘प्याड’ खोल्न लगाएको आरोप छ ।

पीडित छात्राहरुले हातमा परीक्षमा सोधिने उत्तरहरु लेखेर क्याम्पस पुगेको साझाकुरासँग स्वीकार गरेका छन् । जाँच गर्न बसेका कार्यालय सहयोगीहरुले हातमा चिट चोरेको देखेपछि आफूहरुलाई भित्र चिट लुकाएको हुन सक्छ भन्दै दुव्र्यवहार गरेको पीडित छात्राले साझाकुरासँग बताइन् । ‘हाम्रोपनि गल्ती भएको हो । हामीले हातमा चिट लेखेका थियौं । तर, कपडाभित्र चिट लुकाएर आएका थिएनौं । हामीलाई परीक्षामै निगरानी गरेको भए हुन्थ्यो । हाम्रो गोपनीयताको ख्याल नगरी पाइन्ट र प्याडसमेत खोल्न लगाइयो,’ पीडित छात्राले भनिन् । पीडित छात्राहरुले गोपनीयता हनन् हुने गरी जाँच गरिएको र परीक्षार्थीलाई मानसिक तनाव दिएको भन्दै क्याम्पस प्रशासनमा छानबिन गरेर कारबाही गर्न माग गरेका थिए ।

उक्त मागअनुसार क्याम्पस प्रशासनले सबै पक्ष राखेर सहमति गरेको क्याम्पस प्रमुख डा.देवचन्द्र मानन्धरले जानकारी दिए । उनका अनुसार परीक्षा सञ्चालनका क्रममा देखिएका कमजोरीप्रति क्याम्पस प्रशासनले दुःख व्यक्त गर्दै क्षमा मागेको छ ।‘परीक्षार्थी चेकजाँचमा संलग्न कार्यालय सहयोगी दुई जनालाई त्रिविलगायत कुनै परीक्षामा सहभागी हुन नपाउने गरी आजकै मितिबाट निलम्बन गरिनेछ,’ सहमति पत्रमा भनिएको छ । घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति बनाइएको छ । विभिन्न परीक्षामा सहभागी कर्मचारीहरुबाट परीक्षार्थीहरुमाथि अभद्र व्यवहार भएको भन्ने गुनासोउपर सत्यतथ्य छानबिन गरी क्याम्पस सञ्चालक समितिसमक्ष कारबाहीका लागि सिफारिस गर्न छानबिन समिति गठन गरिएको क्याम्पस प्रमुख मानन्धरले बताए । समितिले तीन दिनभित्र प्रतिवेदन पेश गर्नेगरी जिम्मेवारी दिइएको छ ।

सहमति पत्रमा क्याम्पसको नियमित पठनपाठन, परीक्षालगायतका कार्यक्रम शान्तिपूर्ण तथा सहज वातावरणमा सञ्चालन गर्न÷गराउन सहयोग पु¥याइने उल्लेख छ । आगामी दिनहरुमा हुने परीक्षा व्यवस्थित, भयरहित र सौहाद्र्रपूर्ण वातावरणमा सञ्चालन गरिने प्रतिबद्धतासमेत व्यक्त गरिएको क्याम्पस प्रमुख देवचन्द्र मानन्धरले बताए । मंगलबार छात्रामाथि दुव्र्यवहार भएपछि बुधवार प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले क्याम्पसमा तोडफोड गरेका थिए ।

गोपनीयताको हक व्यक्तिको संविधानप्रदत्त मौलिक हक हो । गोपनीयताको हकअन्तर्गत् व्यक्तिको शरीर पनि पर्छ । चिट बोकेको आशंकामा संविधानको मौलिक हक नै खोसिने गरी खानतलासी गर्नु गम्भीर अपराध रहेको अधिवक्ता बालकृष्ण अधिकारीले बताए । परीक्षासम्बन्धी कुनै ऐनले बालिकाको गोप्य संवेदनशील अंगको खानतलासी गर्ने अधिकार नदिएको अधिवक्ता अधिकारीले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*