कामबाट हटाएको भन्दै वडा कार्यालयमा ताला
हेटौंडा- कैलाश गाउँपालिकामा करार सेवाका कर्मचारी हटाएको भन्दै वडा कार्यालयमा बुधवार ताला लगाइएको छ । कैलाशको १ नम्बर वडा कार्यालयमा कार्यरत् कर्मचारीहरुले म्याद थप नगरी जागिरबाट निकालेको भन्दै ताला लगाएका हुन् । कैलाश गाउँपालिकाले करार सेवामा कार्यरत् कर्मचारी हटाएको छ । पालिकाले कुनै आधार नखुलाई हटाएको भन्दै आन्दोलन भइरहेको हो । गाउँपालिकाले २ साउनमा सूचना जारी गर्दै करार सेवाका कर्मचारीलाई काममा नआउन उर्दी जारी गरेको थियो । १ नम्बर वडा कार्यालयमा काम गर्दै आएका कार्यालय सहयोगी राजेन्द्र लामाले राजनीतिक प्रतिशोधका कारण कामबाट हटाएको आरोप लगाए ।
कार्यालय सहयोगी आसमान थिङले आफूहरुलाई आधार बिनै कामबाट हटाइएकोले वडा कार्यालयमा ताला लगाएको बताए । ‘आफ्नो पार्टीभन्दा फरक आस्था
राख्नेहरुलाई करार सेवाबाट हटाउनु गलत छ, यसको विरोध गरेर ताला लगाएका हौं’ उनले भने । २२ असारमा गाउँ कार्यपालिका बैठकले करार सेवाका कर्मचारीको म्याद थप नगर्ने र १ साउनदेखि काममा नलगाउने निर्णय गरेको थियो । गाउँपालिकाले बिषयगत शाखा, कार्यालय सहयोगी, स्वास्थ्य, न्यायिक समितिमा
कार्यरत् करार सेवाका कर्मचारी हटाएको हो ।







