प्रतिष्ठानका पदाधिकारीलाई कारण देखाउ आदेश

साझाकुरा
२०७९ श्रावण ५, बिहीबार ०९:४६

हेटौंडा- उच्च अदालत पाटन हेटौंडा इजलाशले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई कारण देखाउ आदेश दिएको छ । न्यायाधीश निर्मला जोशीको एकल इजलाशले बुधवार प्रतिष्ठानका उपकुलपति डा. विश्वराज जोशी, रजिस्ट्रार राजेश प्रसाईं र संयोजक चीरञ्जीवी चुडाललाई निषेधाज्ञासहितको उत्प्रेषणयुक्त परमादेश जारी माग भएपछि पदबाट किन नहटाउने भन्ने विषयमा कारण देखाउ आदेश गरेको हो । प्रतिष्ठान हेटौंडाका पदाधिकारीविरुद्ध मंगलबार उच्च अदालत पाटन हेटौंडा इजलाशमा रिट दायर भएको थियो ।

नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ मकवानपुरका उपाध्यक्ष सफल अधिकारीले ७६ वर्षका उपकुलपतिले कुलपति, सहकुलपतिको निर्देशन नमानेको, शिक्षाध्यक्षले लगेका प्रस्तावहरु सुनुवाई नगरेको, डीन नियुक्त गर्नुपर्नेमा नियमावली बनाएर अन्य कुनै स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नभएको संयोजक पद खडा गरी स्वास्थ्य विज्ञान नपढेको व्यक्ति नियुक्त गरेको भन्दै रिट हालेका थिए । रिटमा २ करोड ६० लाख रुपैयाँ बेरुजु देखिएको, ६ करोड रुपैयाँ भन्दा बढी रकम हिनामिना भएको भन्दै अख्तियारमा उजुरी पर्दासमेत प्रतिष्ठानको हितमा काम गर्न नखोजेको आरोप लगाइएको छ ।

अधिकारीद्वारा दायर मुद्दामा वरिष्ठ अधिवक्ता एकराज बास्तोलाले बहस गरेका थिए । रिटमा उपकुलपति डा. जोशीले प्रतिष्ठानलाई सही नेतृत्व नदिएको र अन्य पदाधिकारीले पनि आफू अनुकूल नियमावली र कार्यविधि बनाएर प्रतिष्ठानलाई सक्रिय बनाउन पहल नगरेको आरोप लगाइएको हो । प्रतिष्ठानको आर्थिक कारोबारको आन्तरिक लेखापरीक्षणसमेत नगराएको, प्रतिष्ठानको सभामा पनि यो विषय पेश नगरी आर्थिक बदमासी लुकाउन खोजिएको आरोप दायर रिटमा उल्लेख छ ।

प्रतिष्ठानका पदाधिकारी अधिकार, दायित्वबाट पन्छिएर असक्षम र अयोग्य देखिएकाले प्रतिष्ठानकै भविष्य अन्योलमा पर्ने गरी काम भइरहेकाले तत्काल रोक्न, पदाधिकारीहरुलाई पदमुक्त गरी नयाँ पदाधिकारी राखेर प्रतिष्ठानको भविष्य जोगाउन रिटमा अपिल गरिएको छ । उपकुलपतिले अनुभव र कानुनी मापदण्ड नपुगेका
रजिस्ट्रार नियुक्तिमा पनि मौनता साँधेको प्रशासनिक र आर्थिक अनुभव नभएका व्यक्तिहरुलाई प्रतिष्ठानको रकमको कारोबार गर्न दिँदा बदमासीका अलावा बेरुजु देखिएको रिटमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*