भीमफेदीमा मनाइयो कोदो दिवस
हेटौंडा- भीमफेदी गाउँपालिकामा ‘कोदोको योगदान, खाद्य तथा पोषण सुरक्षामा बरदान’ भन्ने नाराका साथ दोश्रो कोदो दिवस मनाइएको छ ।राष्ट्रिय कृषक समूह महासंघको आयोजना तथा अनाज नेपाल र छवेली कृषक समूहको सहकार्यमा भीमफेदी–५ छबेलीमा कोदो दिवस मनाइएको हो । भीमफेदीको छबेलीमा स्थानीयले हरेक वर्ष व्यवसायिक रुपमा कोदो उत्पादन गर्दै आएका छन् ।मकवानपुरका अधिकांश पहाडी क्षेत्रमा विगतका वर्षमा कोदो उत्पादन हुने गरेको थियो भने हाल कोदो उत्पादन घटेको छ । पहाडी क्षेत्रका स्थानीय कृषकहरुले जग्गा बाँझै राख्ने समस्याका कारण कोदो उत्पादनमा गिरावट आउने गरेको कृषि प्राविधिकहरु बताउँछन् । मकवानपुरको कैलाश, भीमफेदी, मकवानपुरगढीमा धेरै कोदो उत्पादन हुने गर्दछ ।
राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष नवराज बस्नेतको सभाध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय समावेशी आयोगका सदस्य विष्णु ओझाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा राष्ट्रिय किसान आयोगका सदस्य तथा प्रवक्ता जिवन्ती पौडेल, भीमफेदी–५ का वडाध्यक्ष जहार सिं लामा, वडा नम्बर ६ का वडाध्यक्ष सोमबहादुर घलान, महासंघका संस्थापक अध्यक्ष उद्वव अधिकारी, अनाज नेपालका प्रतिनिधिलगायतको उपस्थिति थियो ।
कार्यक्रममा कोदो खेती यसको महत्व र उपयोगिताको विषयमा कृषि विज्ञ छवि पौडेलले जानकारी गराएका थिए । कोदो दिवसको अवसरमा मकवानपुरगढी गाउँपालिकाले कोदो खेती प्रवद्र्धन र विविधिकरणको क्षेत्रमा गरेको प्रयासहरुको विषयमा गाउँपालिकाको कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले जानकारी गराएका थिए । महासंघका महासचिव रिता बस्ताकोटीले संचालन गरेको कार्यक्रममा छवेली कृषक समूहका सदस्य दिपक पुडासैनीले स्वागत मन्तव्य व्यक्त गरेका छन् ।







