डेरी उद्योग सञ्चालनको तयारीमा
हेटौंडा- मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर १ मा दुग्ध प्रशोधन परियोजना (डेरी उद्योग) सञ्चालनको अन्तिम चरणमा पुगेको छ ।मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिले उद्योग सञ्चालनको तयारी गरेको हो । बागमती प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष तथा केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटाको उपस्थितिमा उद्योगबाट सफलतापूर्वक परीक्षण उत्पादन गरिएको छ । उद्योगमा जडान भएका मेशिनको प्रारम्भिक परीक्षण समेत गरिएको छ । बागमति प्रदेश सरकार, सहकारी बजार विकास कार्यक्रम (सिएमडिपी) र सहकारी संघको लगानीमा दुग्ध प्रशोधन उद्योग निर्माण गरिएको हो ।
उद्योगबाट जिल्ला दुग्ध उत्पादक सहकारी संघमा आवद्ध र स्थानीय कृषकले उत्पादन गरेका कच्चा दुधलाई संकलन गरी दुधका परिकारहरु तयार गरी बिक्री गरिने संघका अध्यक्ष बासुदेव अधिकारीले बताएका छन् । करिब ६ करोड लगानीमा निर्माण भईरहेको उद्योगमा बागमती प्रदेश सरकारको ५७ लाख २० हजार, सहकारी बजार विकास कार्यक्रम (सिएमडिपी)को एक करोड ७१ लख र सहकारी संघको करिब ३ करोड लगानी रहेको छ । दशैंको समय पारेर सबै वस्तु उत्पादन हुने गरि उद्योग पूर्ण रुपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।
उद्योगसँग एक सिफ्टमा १० हजार लिटर दुधको विभिन्न परिकार बनाउन सक्ने क्षमता रहेको छ । जिल्लाका ६० वटा सहकारी संस्था आवद्ध रहेको दुग्ध सहकारी संघले दैनिक ४० हजार लिटर दुघ खरिद बिक्रीका लागि सहजिकरण गर्दै आइरहेको छ ।उद्योगको परीक्षण उत्पादनमा दुग्ध विकास संस्थान हेटौंडाका आयोजना प्रमुख नवीन शर्मा, हेटौंडा डेरीका संकलन प्रमुख प्रदिप पौडेल, मकवानपुर जिल्ला सहकारी संघका व्यवस्थापक गोविन्द दाहाललगायतको उपस्थिति थियो ।
प्रदेश सहकारी बिकास बोर्डका कार्यकारी उपाध्यक्ष देवकोटाले जिल्ला दुग्ध उत्पादक सहकारी संघमा संकलित दुधलाई विभिन्न परिकार बनाई बजारिकरण गर्ने उद्देश्य अनुरुप उद्योग सञ्चालनको तयारीमा रहेको बताए । कृषकहरुलाई व्यवसायिक बनाउँदै आत्मनिर्भरतर्फ उन्मुख गराउन उद्योग प्रभावकारी हुने विश्वास लिइएको छ ।







