मकवानपुरमा गठबन्धन हाँक्न ‘डीना’ र विरोधको कसरत
हेटौंडा-बागमती प्रदेशको मुकाम रहेको मकवानपुरमा आगामी ४ मंसिरमा घोषणा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सरगर्मी सुरु भएको छ । मकवानपुरका शीर्ष नेताहरु निर्वाचनको तयारीमा लागिसकेका छन् । निर्वाचन नजिकिएसँगै नेताहरुको दौडधुप पनि सुरु भइसकेको छ । निर्वाचन नजिकिएसँगै मकवानपुरमा गठबन्धन हाँक्ने नेताहरुबारे अनेक अड्कलबाजी सुरु भएको छ ।तर, गठबन्धनमा भइरहेको छलफलअनुसार मकवानपुरमा निवर्तमान स्वास्थ्य तथा जनसंख्या मन्त्री नेकपा (एकीकृत समाजवादी)का स्थायी कमिटी सदस्य बिरोध खतिवडा र नेपाली कांग्रेसकी केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’ले जिल्लामा गठबन्धन हाँक्ने देखिएको छ । जानकारहरुका अनुसार खतिवडाले प्रतिनिधिसभा क्षेत्र नम्बर २ तथा डीनाले १ नम्बर क्षेत्रमा दाबी गरेका छन् ।
मकवानपुरमा दुई वटा प्रतिनिधिसभा क्षेत्र छ । जसमध्ये क्षेत्र नं. १ बाट डीना र क्षेत्र नं. २ बाट खतिवडाले गठबन्धन हाँक्ने सम्भावना बढेर गएको कांग्रेसका एक नेताले जानकारी दिए । केही दिनअघि हेटौंडा आएकी डीनाले क्षेत्र नं. १ का नेता कार्यकर्तासंग बाक्लो भेटघाट गरेको बुझिएको छ । भेटघाटमा नेता तथा कार्यकर्ताहरुले डीनालाई १ नम्बर क्षेत्रबाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा निर्वाचन लड्न सुझाएको ती नेताले भने । गठबन्धनबाटै निवर्तमान मन्त्री खतिवडाले २ नम्बर क्षेत्रबाट निर्वाचन लड्ने गरी तयारी अगाडि बढाएको जनाइएको छ । खतिवडा गत निर्वाचनमा २ नम्बर क्षेत्रबाट डीनालाई नै हराउँदै बिजयी भएका थिए । गत प्रतिनिधिसभा निर्वाचनमा खतिवडाले ४४ हजार ७ सय ४४ मत पाएका थिए । डीनाले ३२ हजार ६ सय ८५ मत ल्याएकी थिइन् । त्यतिबेला खतिवडा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त उम्मेदबार थिए ।
गत निर्वाचनमा प्रतिद्वन्द्वी भएका खतिवडा र डीनालाई एउटै रथको दुई पाङ्ग्रा जसरी जिल्लामा गठबन्धनलाई प्रमुख शक्ति बनाउन नेता तथा कार्यकर्ताहरुले शुभकामना दिएको बुझिएको छ । ‘डीना दिदीले केही दिनअघि हामीहरुसँग छलफल गर्दै १ नम्बर क्षेत्रबाट निर्वाचन लड्ने बारे बताउनु भएको थियो । उहाँले टिकट दिनेमा नेतृत्व सकारात्मक भएको बताउनुभएको छ’, छलफलमा सहभागी एक कांग्रेस नेताले साझाकुरासँग भने । डीना हेटौंडामा भेटघाट सकाएर बिहीबार काठमाडौं गएकी छन् ।
१ नम्बर क्षेत्रबाटै प्रतिनिधिसभा निर्वाचन लड्ने चर्चा ईन्द्रबहादुर बानियाँको पनि छ । बागमती प्रदेशको मुख्यमन्त्री बन्न खोजेका बानियाँले पुनः प्रदेशसभामा निर्वाचन लडेर मुख्यमन्त्रीको मार्ग प्रशस्त गर्न सक्ने अड्कलबाजी राजनीतिक वृत्तमा छ । डीनाले प्रतिनिधिसभा निर्वाचन लड्ने भएपछि बानियाँले प्रदेशसभा चुनावमा प्रतिस्पर्धा गरेर बागमतीको मुख्यमन्त्री हुने कांग्रेस मकवानपुरकै नेताहरु बताउँछन् ।
डीनाले टिकट पाए १ नम्बर क्षेत्रबाट उनले कडा प्रतिद्वन्द्वी पाउने सम्भावना पनि बढेको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले एमालेको साथमा १ नम्बर क्षेत्रबाट निर्वाचन लड्ने तयारी गरिरहेको राप्रपा नेपाल मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटाले जानकारी दिए । थापाले एमाले र गठबन्धन दुबैसँग टिकटका लागि भने लबिइङ
गरिरहेको बुझिएको छ । थापा १ नम्बर क्षेत्रबाट गत निर्वाचनमा एमालेका कृष्णप्रसाद दाहालसँग पराजित भएका थिए । दाहालले ४० हजार ६ सय ३१ मत ल्याउँदा थापा ३४ हजार ६ सय ५८ मतमा खुम्चिएका थिए । थापा, कांग्रेसको समर्थनमा उम्मेदवार बनेका थिए ।
यसैगरी, खतिवडासँग २ नम्बर क्षेत्रमा एमालेबाट युवा नेता महेशकुमार बर्तौला भिड्ने तयारी गरेका छन् । साझाकुरासँग कुरा गर्दै बर्तौलाले २ नम्बर क्षेत्रबाट निर्वाचन लड्ने तयारी गरेको बताए । एमालेबाट २ नम्बर क्षेत्रमा रामेश्वर राना र डोरमणि पौडेल पनि चर्चामा छन् । मकवानपुरमा गठबन्धनले प्रदेशसभामा भागबण्डाको ड्राफ्ट गरिसकेको जनाइएको छ । डीनाले दाबी गरेको १ नम्बर क्षेत्रअन्तर्गत् प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर (क) माओवादी र निर्वाचन क्षेत्र नम्बर (ख) कांग्रेसले लिने छलफल भइरहेको जनाइएको छ । जसअनुसार प्रदेशसभा १ (क) मा माओवादीका प्रेमबहादुर पुलामी र प्रदेशसभा १(ख)मा कांग्रेसबाट आनन्दराम पराजुली गठबन्धनको उम्मेदवार हुने चर्चा छ । पुलामी गत निर्वाचनमा पनि सोही क्षेत्रबाट बिजयी भएका हुन् । खतिवडाको २ नम्बर क्षेत्रअन्तर्गत् प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर (क) माओवादीलाई र प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर (ख) कांग्रेसले पाउनेबारे छलफल भएको जनाइएको छ ।
जसअनुसार दुबै क्षेत्रमा पुरानै उम्मेदबार दोहोरिन सक्ने चर्चा छ । प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर (क)मा बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तान र प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर (ख)बाट ईन्द्रबहादुर बानियाँ नै उम्मेदवार हुन सक्ने चर्चा भइरहेको कांग्रेसनिकट स्रोतले जनाएको छ ।गत निर्वाचनमा प्रतिनिधिसभा २ को प्रदेशसभा (क) बाट मोक्तानले प्रतिद्वन्द्वी भन्दा १३ हजार ७९ मत बढी ल्याएर विजयी भएकी थिइन् । प्रदेशको (ख)बाट बानियाँले गत निर्वाचन जितेका थिए ।







