‘विश्व निर्माणमा साझा प्रतिबद्धता’ नारा घन्काउँदै प्रभातफेरी
हेटौंडा- हेटौंडामा ‘अन्तरपुस्ता ऐक्यबद्धता, सबै उमेर समूहमैत्री विश्व निर्माणमा साझा प्रतिबद्धता’ भन्ने नारा घन्काउँदै प्रभातफेरी कार्यक्रम भएको छ । प्रदेश युवा परिषद् बागमतीको आयोजनामा २२ औ अन्तराष्ट्रिय युवा दिवसको अबसर पारेर शुक्रबार हेटौंडामा प्रभातफेरी कार्यक्रम गरिएको हो । प्रदेश युवा परिसद्का उपाध्यक्ष सन्तोष चौलागाईको सभाध्यक्षतामा भएको कार्यक्रममा युवामा उद्यमशीलता र नेतृत्व क्षमताको विकास गर्दै विकास निर्माणको मुलप्रबाहमा संलग्न गराएर सम्बृद्ध प्रदेश निर्माण गर्ने अभियानको सुरुवात गर्न यस्ता दिवसले मद्दत पुग्ने चोलगाईको विश्वास छ । शुक्रबार हेटौंडाका मुख्य बजार क्षेत्रमा प्रभातफेरी कार्यक्रम गरिएको थियो ।
परिषद्ले अन्तराष्ट्रिय युवा दिवसलाई विभिन्न कार्यक्रम गर्दै माइरहेको छ । यसअघि वृक्षरोपण, रक्तादनलगायतका कार्यक्रम भइसकेका छन् । बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न प्रसाद ढकालको अध्यक्षतामा १ सय १ सदस्य मुल समारोह समिति बनाएर २४ साउनदेखि सप्ताहव्यापी कार्यक्रम सुरु गरिएको थियो । कार्यक्रम ३० साउनमा युवाको प्रश्नः म युवा तथा खेलकुद मन्त्रीको उत्तर नामक अन्र्तक्रिया कार्यक्रम गरेर समापन गरिने परिषद् उपाध्यक्ष चौलागाईले बताए । संयुक्त राष्ट्रसंघको साधारण सभाले सन् १९९९ बाट हरेक बर्ष अगष्ट १२ लाई अन्तराष्ट्रिय युवा दिवस मनाउन गरेको निर्णयसँगै औपचारिक रुपमा सन् २००० देखि अगष्ट १२ का दिन अन्तरास्ट्रिय युवा दिवस मनाउन सुरु गरिएको थियो ।
तर, नेपालमा २००४ देखि मात्रै दिवस मनाउन थालिएको हो । १६ वर्षदेखि ४० बर्ष उमेर समूहलाई नेपाल सरकारले लामो समयको बहसपछि युवा घोषणा गरेको थियो । संयुक्त राष्ट्रसंघले १५ बर्षदेखि २४ बर्ष उमेर समूहका व्यक्तिलाई युवाको परिभाषा दिएको छ । उमेरको आधारमा हेर्ने हो भने भिन्न भिन्न देशले आ–आफ्नो परीभाषामा युवाको उमेर छुट्ट्याएका छन् ।







