बागमतीमा बदमासी, खरिद ऐन मिचेर काम
हेटौंडा- मकवानपुरको पूर्वी क्षेत्रस्थित बागमती गाउँपालिकामा सार्वनजिक खरिद नियमावली विपरित काम गरेको पाइएको छ । नेकपा माओवादी केन्द्र मकवानपुरका अध्यक्षसमेत रहेका सकेर्श घलान अध्यक्ष रहेको गाउँपालिकामा बदमासी भएको महालेखा परीक्षकको कार्यालयले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ८ (२) मा ऐन अन्तर्गत् बनेको नियमअनुसार प्रतिस्पर्धा सीमित हुने गरी सोझै खरिद गर्नु नहुने भएपनि गाउँपालिकाले कमिशनको लोभमा पालिकालाई आवश्यक सामग्री सोझै खरिद भएको पाइएको छ ।
गाउँपालिकाले बिल र भरपाई बिनै बिद्यालयलाई एक करोड ६७ लाख ८० हजार रुपैयाँ भुक्तानी दिएको भन्दै महालेखाले प्रश्न उठाएको हो । गाउँपालिकाले वडा नम्बर–८ स्थित, जनता माध्यमिक विद्यालयलाई भौतिक पूर्वाधार निर्माणको काम गरेको कुनैपनि बिल, भर्पाइ नलिई रकम भुक्तानी गरेको महालेखा परिक्षकको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७७÷०७८ मा गाउँपालिकाले नमुना विद्यालयको भौतिक पूर्वाधार निर्माण गर्ने कामका लागि रकम विद्यालयको खातामा भुक्तानी गरेपनि बिल, भरपाई, कार्य सम्पन्न प्रतिवेदन केही उलब्ध नगराएको महालेखा परिक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।
उक्त भुक्तानी रकम असुल गर्न महालेखाले सुझाव दिएको छ । यसैगरी, गाउँपालिकाले २७ लाख ८१ हजार ५ सय ६१ रुपैयाँको सामान सार्वजनिक खरिद नियमावली मिचेर सोझै खरिद गरेको पाइएको छ । गाउँपालिकाले छपाइका सामान, मसलन्दका सामान खरिदमा योजना टुक्रा पारेर सोझै खरिद गरेको हो । गाउँपालिकालाई चाहिने आवश्यक सामान खरिदमा योजना टुक्रा–टुक्रा पारेर नियम विपरित खरिद गरेको महालेखा परिक्षकको कार्यालयले प्रतिवेदनमा लखेको हो । महालेखाले आव २०७७÷०७८ मा नियम विपरित खर्च गरेको भन्दै प्रश्न उठाएको हो ।







