हेटौंडा अस्पतालको सेवा अब सुधार हुनैपर्छ
हेटौंडा अस्पताल अहिले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पतालको रुपमा रहेको छ । प्रतिष्ठानको आफ्नै शिक्षण अस्पताल नबनेसम्म हेटौंडा अस्पताललाई नै शिक्षण अस्पतालको रुपमा प्रयोग गरिएको बताइएको छ । हेटौंडा अस्पतालमा बेथितिहरु धेरै भएको गुनासो आएपछि राजनीतिक दल तथा स्वतन्त्र युवा समाजसेवीहरुले त्यसतर्फ ध्यानाकर्षण गराउँदै विविधखाले लापरबाहीदेखि समस्याहरुलाई उजागर गर्ने काम गरेको थियो । अस्पतालमा भएको समस्याहरुलाई क्रमशः समाधान गर्ने प्रतिबद्धता र भएका कमीकमजोरी पत्ता लगाउन बागमती प्रदेशका स्वास्थ्य निर्देशकको संयोजकत्वमा समिति नै गठन गरेर अध्ययन सुरु भएको थियो । उक्त समितिले हालसम्म प्रतिवेदन बुझाएको जानकारी आएको छैन । विगतमा भएका कमीकमजोरी उक्त छानविन समितिले पक्कै पत्ता लगाएर सार्वजनिक गर्ला । त्यतिबेला जिल्ला प्रशासन कार्यालयमा भएको सर्वदलीय सर्वपक्षीय बैठकमा अस्पतालका रजिष्ट्रार तथा मेडिकल सुपरिटेण्डेन्टले नयाँ भवन बनेपछि धेरै समस्या समाधान हुने आश्वासन दिएका थिए । त्यो साँच्चै हो रहेछ भन्ने अब पुष्टि गर्ने बेला भएको छ ।
अस्पतालमा टिकट लिन लाइन बस्नुपर्ने, टिकट पाएपछि ओपीडीमा डाक्टर कुर्न लाइन बस्नुपर्ने, डाक्टरले जाँचेर औषधी लेखेपछि औषधी किन्न लाइन बस्नुपर्ने, ल्याबमा त्यत्तिकै ढिलासुस्ती, भिडियो एक्स–रे तथा अन्य एक्स–रे मा पनि लाइन बस्नुपर्ने, बिमाको सुविधाबाट किन्नको लागि सबै औषधी नपाइने, गोदाममा औषधि खेर जाने तर, बिरामीहरुले नपाउने गरेको, चिकित्सकहरु ड्यूटी समयभर अस्पतालमा नबस्ने भन्ने गुनासो व्यापकरुपमा आएको थियो । अब यो गुनासोलाई पनि नयाँ भवन बनेसंगै अस्पताल प्रशासनले व्यवस्थापन गर्नुपर्छ ।
स्वास्थ्यको दृष्टिले निकै पछाडि रहेको मकवानपुर जिल्ला अस्पतालको यो भवनबाट सेवा सुचारु भएसंगै अलि अगाडि बढेको छ । भवन बनेसंगै अस्पताल प्रशासनले ठूलो संख्यामा कर्मचारी करारमा भर्ना गर्ने तयारी गरेको छ । यसमा योग्यता, दक्षता र क्षमतावान स्वास्थ्यकर्मी तथा कर्मचारी भर्ना हुनुपर्छ, न कि पार्टीको झोले र नेताका आफन्त । कर्मचारी भर्नालगायत काम विधि र नियममा रहेर हुनुपर्छ । सेवा भवनले दिने होइन, चिकित्सक र कर्मचारीले हो । त्यसैले अब उनीहरुको व्यवहारमा पनि परिवर्तन आउनैपर्छ । उनीहरुको व्यवहार जनमैत्री हुनैपर्छ । हेटौंडा अस्पतालको सेवामा सुधार हुनैपर्छ । हेटौंडा अस्पतालले यो अवसरलाई जनविश्वास जित्ने कडिको रुपमा लिनु श्रेयष्कर हुन्छ ।






