हेटौंडा–३ मा निःशुल्क अंग्रेजी माध्यमबाट शिक्षा
हेटौंडा- हेटौंडामा नाम चलेका सामुदायिक विद्यालयहरुले अंग्रेजी माध्यमबाट पढाउन कानुनविपरित शुल्क लिएपनि हेटौंडा–३ का सामुदायिक विद्यालयमा भने निःशुल्क पढाइने भएको छ ।
अभिभावकहरुको ढाड सेक्ने गरी कानुनविपरित अंग्रेजी माध्यमबाट पठनपाठन गराउने नाममा शुल्क लिएका नगरको मुख्य बजार क्षेत्रकै विद्यालयलाई पाठ सिकाउने गरी ३ नम्बर वडाका अध्यक्ष ढलकबहादुर थापाको पहलमा सामुदायिक विद्यालयहरुले निःशुल्क पढाउने भएका हुन् । हेटौंडा–३, स्थित बसामाडीमा रहेका सामुदायिक विद्यालयहरुले अंग्रेजी माध्यममा निःशुल्क रुपमा पढाउन सुरु गरेका हुन् । वडा शिक्षा समन्वय समितिले निःशुल्क रुपमा अंग्रेजी माध्यममा शिक्षा प्रदान गर्ने व्यवस्था मिलाएसँगै आइतबारबाट सामुदायिक विद्यालयहरुले पठनपाठन सुरु गरेको वडा अध्यक्ष थापाले जानकारी दिए ।
स्थानीय बाल उज्जवल मावि र महेन्द्र किरण माविको कक्षा १ बाट अभियान सुरुवात गरिएको छ । शिक्षा समन्वय समितिले वडा कार्यालयको पहलमा हेटौंडा उपमहानगरपालिका र युनिलिभर नेपाल लिमिटेडसँगको सहकार्यमा पाँच वर्षभित्र कक्षा ५ सम्म निःशुल्क रुपमा अंग्रेजी माध्यमबाट शिक्षा दिने व्यवस्था गर्ने जनाएको छ । हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले आइतबार अभियानको उद्घाटन गरे । बानियाँले शिक्षा क्षेत्रको विकासमा उपमहानगरले सक्दो सहयोग गर्ने बताएका छन् । पहिलो प्राथमिकतामा शिक्षा क्षेत्रलाई लिएको उपमहानगरले गुणस्तरीय शिक्षामा जोड दिँदै आएको बानियाँले बताए ।
शिक्षा समन्वय समितिले कक्षा १ मा अध्ययनरत् ७० जना विद्यार्थीलाई एकवर्षका लागि आवश्यक पर्ने किताबसहित सम्पूर्ण स्टेशनरी सामग्री, ड्रेस, ट्रयाकसुट र ब्यागको व्यवस्था गरेको छ । वडा अध्यक्ष थापाका अनुसार सम्पूर्ण विद्यार्थीलाई अंग्रेजी माध्यमबाट निःशुल्क रुपमा शिक्षा प्रदान गर्ने गरी तयारी गरिरहेको छ । जसका लागि दाताको खोजी कार्य भइरहेको बताए । आगामी वर्षबाट २ कक्षासम्म निःशुल्क शिक्षाको व्यवस्था गर्ने गरी तयारी गरेको समिति सदस्य टेकनाथ शिवाकोटीले बताए । अभियानको उद्घाटन समारोहमा विद्यार्थीहरुले आफ्नो कला, सांस्कृति झल्किने प्रस्तुत दिएका थिए ।







