प्रदेश प्रमुख शर्माद्वारा अध्यादेश जारी
हेटौंडा- बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले अध्यादेश जारी गरेका छन् । प्रदेश प्रमुख शर्माले बुधबार प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका हुन् । अध्यादेशले यसअघिको प्रदेश सरकारबाट जारी ‘प्रदेशभित्रका अस्पतालको संचालन र व्यवस्थापन आदेश, २०७५’ खारेज गरेको छ । बागमती प्रदेशको प्रदेश गत भदौ २७ गते बसेको मन्त्रीपरिषद बैठकले सिफारिस गरेको अध्यादेशलाई प्रदेश प्रमुख शर्माले बुधबार जारी गरेका हुन् । शर्माले नेपालको संविधानको धारा २०२ को उपधारा (१) बमोजिम जारी गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता प्रकाश चापागाईंले जानकारी दिए ।
अध्यादेशले प्रदेशभित्रको स्वास्थ्य तथा जनसंख्या सेवा सम्बन्धी कामकारवाहीलाई प्रभावकारी नियमन गर्न तथा नितीगत निर्देशनका लागि स्वास्थ्यमन्त्रीको अध्यक्षतामा प्रदेश स्वास्थ्य तथा जनसंख्या समिति गठन हुने व्यवस्था गरेको छ ।त्यस्तै, अध्यादेशले प्रदेश सरकार मातहतका अस्पताल र आयुर्वेद स्वास्थ्य केन्द्रका लागि छुट्टाछुट्टै स्वास्थ्य संस्था संचालन तथा तथा व्यवस्थापन समिति गठन हुने व्यवस्था गरेको छ ।







