आश्रमबाट भविष्य चिहाउदै बालबालिकाहरु
हेटौंडा- एउटा बच्चाको पहिलो विद्यालय उसको घर हुन्छ । उनको बाबु आमा नै पहिलो शिक्षक शिक्षिका हुन्छन् । त्यसपछि छिमेकी र विद्यालयबाट सिकाईहरु शुरु हुन्छ । घरबाट सडकमा आईपुगेका र अनाथ बालबालिकाहरुको हकमा भने सिकाईको थलो फरक हुने गर्छ त्यस्तै छ मानवसेवा आश्रममा पालनपोषण गरिएका बालबालिकाको अवस्था । आश्रममा बसेका बालबालिकाको अवस्था अन्य वालवालिकाको भन्दा भिन्न छ ।परिवारभन्दा बाहिर बस्नुको पीडा उनीहरुलाई असह्य छ । कतिपय बालबालिकालाई त आफ्नो जन्मदिने आमाबुवाको अनुहारमात्र होइन, कुन गाउ र ठाउमा जन्मेको थाहा पनि छैन । हेटौंडा–९ स्थित मानवसेवा आश्रममा २३ जना बालबालिका आश्रित छन् । उनीहरुलाई खाने, बस्ने, पढ्ने सबै व्यवस्था आश्रमले मिलाएको छ ।
आश्रममा १ वर्षदेखि १७ वर्षसम्मका बालबालिकालाई नजिकैको श्रीकृष्ण आदर्श बोर्डिङ स्कूल र आधुनिक माध्यमिक विद्यालयमा पढाएका छन् । आश्रमका संसाक मानव कक्षा ११ मा हेटौंडा स्कूल अफ म्यानेजमेन्टमा कर्मस विषय लिएर अध्ययन गरिरहेका छन् । उनीहरुलाई विद्यालयहरुमा पढ्न केहि छुट हुने गरेको आश्रमका अभियन्ता होमनाथ पौडेलले जानकारी दिए । ‘हामी कहाँ अहिले सबैभन्दा सानो बाबु १ वर्षको हुनुहुन्छ, र सबैभन्दा ठुलो क्याम्पसमा पढ्दै हुनुहुन्छ ।’ आश्रमका बालबालिकालाई समय मिलाएर घुमाउन फिल्म हेर्न लैजाने गरेको पौडेलले जानकारी दिए । आश्रममै जन्मेर हुर्केका अमृत मानव जो अहिले कक्षा ८ मा अध्ययनरत छन् ।
उनलाई आश्रममै बसेर पढ्दा निकै रमाईलो लाग्ने गरेको बताए । त्यसैगरी अर्को बालक आयुष मानव जो अहिले कक्षा ३ मा अध्ययनरत छन् । उनलाई आश्रम नै आफ्नो घर भएको र त्यहि बस्न आफुलाई रमाइलो लाग्ने गरेको बताए । ‘मलाई यहि रमाइलो लाग्छ । हाम्रो अहिले परिक्षा चल्दै छ । परिक्षा सकिने बित्तिकै हामिलाई दशैको सपिङ्मा लैजाने भन्नुभाको छ, उनले खुशि हुँदै भने । २३ जना बालबालिकालाई ट्युसन पढाउन एक जना शिक्षक पनि राखेका छन् आश्रमले । बिहान बेलुका गरि २÷२ घण्टा गरेर पढाउछन् उनीहरुलाई । सडकपेटिबाटै उद्धार गरेका उनीहरुलाई आमाबुवा नभएका कारण आश्रमले वडा कार्यालयबाट मानव थर राखेर जन्मदर्ता बनाएका छन् ।
वडा कार्यालयले पहिला पहिला जन्मदर्ता बनाउन नमानेपनि अहिले सजिलैसँग जन्मदर्ता बनाइदिएर बालबालिकालाई पढ्न सहज बनाइदिने गरेको अभियन्ता पौडेलले जानकारी दिए ।
बच्चा माग्दै २०० वटा निवेदनआश्रममा आश्रित बालबालिकालाई देख्दा जोकोहिले पनि माया नगरी बस्न सक्दैनन । सा साना नानीबाबुहरुको आनीवानी राम्रो र असल भएकाले उनीहरुलाई माग्न दिनहु मान्छे आउने गरेको बताउँछन् । धेरै समयसम्म पनि सन्तान नभएको परिवार आश्रममा रोईकराई गर्ने गरेको अभियन्ता पौडेलले जानकारी दिए । आश्रममा जन्मेका बालबालिकालाई आफ्नो सन्तानको रुपमा राख्न बच्चाको माग गर्दै २०० वटा निवेदन आश्रममा परेको छ । नेपालको कानुन अनुसार बालबालिकालाई अरुको जिम्मेवारीमा छाड्ने सहज नियम छैन । अहिले अदालतले नै मानसिक अवस्था गुमाएका आमाबाबुका सन्तान नदिन निर्देशन गरेको छ ।
हाल मानसिक अवस्था गुमेकी आमाले पछि सञ्चो भएपछि बच्चा माग्यो भने के भन्ने ? भन्ने व्याख्या अदालतको छ । ‘कानुनी जटिलता एकातिर छ, अर्को कुरा हामीलाई (आश्रमलाई) पनि त उत्तराधिकारी चाहियो नी, हाम्रो भोलिको पुस्ता उहाँहरु नै हो’ पौडेलले भने । बालबालिकाहरु आफ्नो खुट्टामा उभिएर आफ्नै तरिकाले बाँच्छु भनेर आश्रमबाट बाहिरिन पनि अनुमति छ । आश्रमले दशकको यात्रा पुरा गर्दै गर्दा हालसम्म देशभरबाट ७ हजार २ सय ६३ जना सडक सहयोगापेक्षीहरुको उद्धार गरेको छ । देशभरको १९ जिल्लाका २३ वटा सेवा केन्द्रहरुमा १ हजार ४ सय ८० र मुख्य कार्यालय हेटौंडामा २ सय जनालाई हाल आश्रय दिइरहेको छ ।
आश्रमका संस्थापक÷अध्यक्ष रामजी अधिकारीलगायत झण्डै ३ सय जना अभियन्ताहरु शहरको सडक र कुनाकुनामा मानवताको प्रवद्र्धनमा लागि परेका छन् । यो आश्रमका टिम र पछिल्लो वर्षहरुमा देशको तीनै तहको सरकारको सहयोगले नेपाललाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र बनाउने महाअभियान नजिक पुग्दै गरेको बताउँछन् अधिकारी ।आश्रमको मानवता प्रवद्र्धन महाअभियान अन्तर्गत २०८० सालसम्म देशभर आश्रमको भवन निर्माण कार्य सम्पन्न गर्ने २०८१ मा सडक मानवहरुको बारेमा बृहत अन्तरक्रिया कार्यक्रमहरु गर्ने र सडक मानवहरुलाई व्यवस्थापन गर्दै २०८२ मा देशलाई सहयोगापेक्षी सडकआश्रित मानव मुक्त राष्ट्र घोषणा गर्ने अभियानमा छन् अभियन्ताहरु ।







