थाहा नगरमा बजार अनुगमन

साझाकुरा
२०७९ आश्विन १४, शुक्रबार ०९:२८

हेटौंडा- चाडपर्व नजिकिएसँगै जिल्लाको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकामा बजार अनुगमन गरिएको छ ।स्थानीय सरकार थाहा नगरपालिकाको उपस्थितिमा उपभोक्ता हित संरक्षण समिति थाहाले बजारका किराना पसलहरुमा बिहीवार अनुगमन गरेको हो ।समितिले खाद्यान्न, इन्धन, माछामासु, तरकारी, फलफूललगायतका थोक तथा खुद्रा पसलमा अनुगमन गरिएको थियो । चाडपर्वको समयमा व्यापारीहरुले जथाभावी मूल्य लिने, म्याद गुज्रिएका अखाद्य वस्तुलाई बेच्नेलगायतका समस्या देखिने गरेकाले चाडवाडमा अनुगमनलाई सक्रिय रुपमा अगाडि बढाएको हो ।

उपभोक्ता हित संरक्षण समिति संयोजक उपप्रमुख भरत गोपालीले सर्वसाधारणहरुको खाद्य अधिकार र सुरक्षालाई ध्यानमा दिएर अनुगमन जारी राखिएको बताए । थाहाको शिखरकोट, गोपाली गाउँ, घर्तिखोला, पालुङ, फाँट बजार, थाना बजार, ओखर बजार र बज्रबाराहीको सरस्वती बजारका पसलहरु अनुगमन गरिएको थियो ।बढी मूल्य लिने, मूल्य सूची नराख्ने, गुणस्तरीय वस्तु
विक्री वितरण नगरी उपभोक्ता ठग्ने, नगरमा व्यवसाय दर्ता तथा नवीकरण नगर्ने व्यापारीलाई चेतावनी दिइएको गोपालीले बताए ।

नगरले चार्डपर्वको सन्दर्भमा अनुगमनलाई प्रभावकारी बनाउन पहिलो चरणमा दशैं र त्यपछि क्रमशः सबै नगरका बजार निरीक्षण गरिने नगर अनुगमन समितिका संयोजक अजित घिमिरेले बताए । अनुगमनका क्रममा मूल्य सुची नराखेको तथा म्याद गुज्रिएको सामान फेला परेका व्यावसायीहरुलाइ चेतावनीसहित छाडिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*