भैंसेमा अस्थायी चेकजाँच पोष्ट राखिने

साझाकुरा
२०७९ आश्विन १४, शुक्रबार ०९:४३

हेटौंडा- मकवानपुरको उत्तरी क्षेत्रस्थित काठमाडौं उपत्यका प्रवेश गर्ने मार्गअन्तर्गत् भैंसेमा प्रहरीले अस्थायी चेकपोष्ट राख्ने भएको छ । चाडपर्वलाई लक्षित गरी भीमफेदी गाउँपालिकाको भैंसेमा अवैध माछामाछु ओसारपसारमा रोक लगाउन चेक पोष्ट राख्ने भएको हो । केही दिनअघि हेटौंडा–१० बसर्पाकमा गरिएको अनुगमनका क्रममा प्रतिबन्धित मंगुर माछा बिक्रीका लागि राखेको पाइएको थियो । अनुगमन टोलीले प्रतिबन्धित माछा बरामद गरेर नष्ट गरेको थियो । अवैध माछा ओसारपसार हुने गरेको देखिएपछि भैंसेमा चेक पोष्ट राखिने भएको हो । भन्सार छलेर आएका भारतीय अवैध, अस्वस्थकर र नेपाल सरकारले निषेध गरेका माछाहरु ओसारपसार हुन नदिन भैंसेमा चेकपोष्ट खडा गर्ने निर्णय गरिएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, मकवानपुरको प्रतिनिधि, सुरक्षा, निकायको प्रतिनिधि, मत्स्य व्यवसायी संघको प्रतिनिधि रहने गरी मकवानपुरको भैंसेमा अस्थायी चेकजाँज पोष्ट खडा गरी चेकजाँच गर्ने निर्णय गरिएको हो । भन्सार छलेर आएका भारतीय अवैध, अस्वस्थ्यकर र नेपाल सरकारले निषेध गरेका माछाहरु जिल्ला प्रशासन कार्यालय मकवानपुर, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सुरक्षा निकायहरु, स्थानीय जनप्रतिनिधि, संचारकर्मी र मत्स्य व्यवसायी संघको रोहवरमा त्यस्ता माछाहरु नष्ट गर्ने निर्णय गरिएको छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र पाण्डेको अध्यक्षतामा माछा व्यवसायलाई जिल्लाभित्र व्यवस्थित बनाउने बिषयमा भएको छलफलमा प्रमुख सेनानी सुभाष चन्द महत, प्रहरी उपरीक्षक बामदेव गौतम, सशस्त्र प्रहरी उपरीक्षक नेत्र कार्की, उपअनुसन्धान निर्देशक पप्पु शर्मा पौडेल, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र प्रमुख डाक्टर बज्रकिशोर ठाकुर, नेपाल मत्स्य व्यवसायी संघका केन्द्रीय महासचिव जोगेन्द्र महत्तो, सदस्य लालबहादुर तामाङ लगायतकाको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*