रात्रिकालीन सुरक्षाको लागि हतियारसहित प्रहरी टोली गस्तीमा

साझाकुरा
२०७९ आश्विन १५, शनिबार ११:४७

हेटौंडा- चार्डपर्वमा हुनसक्ने आपराधिक गतिविधि न्युनिकरण गर्न बसहरूमा रात्रिकालीन सुरक्षा जाँच तथा हतियारसहित प्रहरी टोली गस्तीमा खटिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको संयुक्त प्रहरी टोलीले चाडपर्व लक्षित विशेष सुरक्षा योजनाअन्तर्गत रात्रिकालीन बसहरूमा हतियारसहित प्रहरी गस्ती सुरु गरेको हो । हतियारसहितका प्रहरीलाई बसमा राखेर बारा र मकवानपुरको सिमाना हेटौंडाको चुरियामाइदेखि मकवानपुर र चितवनको सिमाना मनहरीको लोथरसम्म हतियारसहितको गस्ती सुरु गरिएको प्रहरीले जनाएको छ । चाडपर्वको समयमा आम नागरिकहरूको रात्रिकालीन यात्रा पनि सुरक्षित होस् भन्ने उद्देश्यले हतियारसहितको गस्ती सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक वामदेव गौतमले बताए । चाडपर्व लक्षित विशेष सुरक्षा योजनाअन्तर्गत जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको संयुक्त प्रहरी टोलीले गस्ती सुरु गरेको उनको भनाइ छ ।

हेटौंडाको बसपार्कबाट पूर्व–पश्चिम रुटमा चल्ने यात्रुवाहक बसहरूलाई रोकी जाँच गर्नुका साथै रातको समयमा हुन सक्ने लुटपाट तथा चोरीलाई मध्यनजर गरी रात्रिकालीन बसहरूमा चुरियामाइदेखि मनहरीको लोथरसम्म हतियारसहित प्रहरी टोलीले गस्ती गर्ने गरिएको उपरीक्षक गौतमले बताए ।राजमार्गमा पर्ने जंगलसहितको एकान्त क्षेत्रमा लुटेराहरूले बस रोकेर यात्रुहरूको लुटपाट गर्ने गरेकाले प्रहरीले यात्रालाई सुरक्षित बनाउन यो अभियान सुरु गरेको जनाएको छ । विशेषगरी चाडपर्वमा काठमाडौंबाट गन्तव्यतर्फ जान लागेका यात्रुहरूको सुरक्षालाई मध्यनजर गरेर यो काम सुरु गरिएको प्रहरी उपरीक्षक गौतमले भने । यसैगरी, प्रहरीले हेटौंडा उपमहानगरपालिका–१ तिरतिरे धारामा हेटौंडा–भिमफेदी–काठमाडौं रुटमा चल्ने साना–ठूला सवारी साधनहरूलाई रोकी चालकहरूको लागूपदार्थ सेवनको जाँच गर्न थालेको छ ।

जाँच गर्ने क्रममा ३ जना चालकलाई लागूपदार्थ सेवन पोजिटिभ देखिएकाले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । हेटौंडाबाट काठमाडौं जाने छोटो दूरीको मार्गमा लागूपदार्थ सेवन गरी सवारीका साधन चलाउने गरेको यात्रुहरूको गुनासो आएपछि प्रहरीले जाँच सुरु गरेको हो ।हेटौंडा–भीमफेदी, कुलेखानी–फाखेल हुँदै काठमाडौं रुटमा सवारी साधन चलाउने चालकको मादक पदार्थ तथा लागूपदार्थ सेवन गरे÷नगरेको जाँच गरेर पठाउने क्रममा तीन जना चालकले लागूपदार्थ सेवन गरेको प्रमाणित भएपछि पक्राउ गरेर थप अनुसन्धान गरिरहेको जिल्ला ट्राफिक मकवानपुरका प्रमुख मुनेन्द्र थापाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*