नेता ग्लानले बार्गेनिङ गरे की पीडा लुकाए ?
हेटौंडा- नेकपा माओवादी केन्द्र मकवानपुरका नेता तथा बागमती प्रदेशसभा सदस्य ओमबहादर ग्लान(प्रदीप वालाचन)ले २५ असोजमा लेखेको एउटा स्ट्यासले राजनीतिक वृतमा खैलामैला मच्चायो ।‘एउटा कठोर निर्णय गरे, प्रिय अप्रिय जे भएपनि परेको सहुँला । व्यहोरौला । भोली सबिस्तार तपाईमाँझ विवरण खोलौला, आजलाई माफ गर्नुहोला,’ ग्लानले लेखेको स्ट्याटस यस्तो थियो । निर्वाचनको संघारमा आएको उनको स्ट्याटसले टिकट नपाएको झोक रहेको प्रष्टै खुल्थ्यो । कठोर निर्णयपछि सहुँला, व्यहोरौला भन्ने आशयले पार्टी छोड्नेसम्मको चेतावनी पनि स्ट्याटसमा थियो । सँगै आजलाई हैन, भोली सबिस्तार बताउँछु भन्नुले उनले बार्गेनिङका लागि ठाउँ छोडेको प्रष्टै देखिन्थ्यो ।
नेता ग्लानले न कठोर निर्णय लिए, न त स्ट्याटससँग मिल्दोजुल्दो विषय उठाए ।ग्लानले स्ट्याटसभन्दा विपरित गठबन्धनका नेताहरुलाई भोट मागे । २६ असोज ४ बजे फेसबुक लाइभमा आएका ग्लानले बार्गेनिङ गरे की पीडा लुकाएर गठबन्धनका उम्मेदवारहरुलाई भोट मागे भन्ने प्रश्न पार्टीभित्रै र आम राजनीतिज्ञमा छोडे । आगामी प्रदेशसभा निर्वाचनमा ग्लान प्रत्यक्ष उम्मेदवारका दाबेदार थिए । यसअघि उनी समानुपातिकबाट सांसद बनेर प्रदेशसभा छिरेका थिए ।गठबन्धनमा भागबण्डा मिलाउँदा ग्लान आगामी प्रदेशसभा निर्वाचनमा प्रत्यक्ष उम्मेदवार बन्नबाट बञ्चित भएका थिए । जसकारण ग्लानले मंगलबार स्ट्याटस लेखेको उनी निकट नेताहरु बताउँछन् । ग्लान बुधवार दिउँसो ४ः०० बजे फेसबुक लाइभमा प्रेस विज्ञप्तिसहित आए । गठवन्धनलाई विजयी गराउन भन्दै ग्लानले गठबन्धनका नेताहरुले हस्ताक्षर गरेर विज्ञप्ति समेत निकालिसकेको विषय निकालेका थिए ।
ग्लानको लाईभमा माओवादी केन्द्रले उनको निर्वाचन क्षेत्रमा गएको १० वर्षबाट गोलाकार भित्रको हसियाँ हथौडामा भोट हाल्न नपाएको पीडा बाहिर ल्याएका थिए । ग्लानलाई बुधवार नेकपा माओवादी केन्द्र मकवानपुरका शिर्ष नेताहरु फकाउन कसरत गरेका थिए । कतिपय नेताहरु मनहरीसम्मै पुगेका थिए ।







