हेटौंडाका नाकामा कुकुरसहितको प्रहरी चेकिङ

साझाकुरा
२०७९ आश्विन २९, शनिबार ०८:४४

हेटौंडा- दिपावलीमा भारतसँगको खुला सीमा नाकाका कारण हेटौंडामा भित्रिन सक्ने हल्का परिमाणको बारुदको रुपमा रहेको असुरक्षित पटका नियन्त्रण गर्न कुकुरसहित चेकिङ जारी छ ।महत्वपूर्ण पर्व तिहार र छठलाई जोखिमपूर्ण बनाउँदै आएको हल्का परिमाणको बारुदको रुपमा भित्रिने असुरक्षित पटका नियन्त्रण गर्न बागमती प्रदेश प्रहरी कार्यालय सक्रिय भएको हो । पटका पड्काउने वा बाल्ने क्रममा निस्कने खतरनाक रसायनहरुले ध्वनी एवं वायू प्रदूषणलगायत पर्यावरणीय समस्यासँगै मानव स्वास्थ्यमा पनि दूरगामी असर पर्ने भएकाले सुरक्षा निकायले पटका नियन्त्रणमा विशेष निगरानी गर्दै आइरहेका छन् । जसअन्तर्गत बागमती प्रदेश प्रहरी कार्यालयले दशैं सकिए लगत्तै हेटौंडा प्रवेश गर्ने नाकामा कुकुरसहित चेकिङ गरिरहेका हुन् ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले तयार गरेको चाडपर्व लक्षित सुरक्षा योजनाअनुसार पटका भित्राउन नदिनका लागि कुुकुर सहितको चेकिङ सुरु गरिएको हो । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ रातोमाटेबाट हेटौंडामा धेरै पटका भित्रिने गरेको प्रहरी अनुसन्धानबा खुलेको छ । भारतबाट बीरगञ्ज हुँदै हेटौंडामा पटका ल्याउन व्यापारीहरु सक्रिय हुने गरेका छन् । यसअघि मकवानपुरमा प्रहरीले पटका नियन्त्रण गर्न थुप्रै सुरक्षा योजना बनाए पनि सफलता हात पर्ने गरेको थिएन् । यसवर्ष कुकुर परिचालन गरेरै चेकिङ गरिएको हो । नाकामा मात्रै ध्यान दिने तर बजारका किरानादेखि पान पसलमा निगरानी नगर्दा दिपावलीमा प्रसस्तै पटका पटकिँदै आएको देखिएको छ । तर, हेटौंडामा व्यापारीहरुले दशैं अगाडि नै दिपावलीलाई लक्षित गरेर पटका भित्राइसकेको आशंका गरिएको छ । व्यापारीहरुले पटका बिक्री वितरण गोप्य रुपमा गर्दै आएपनि प्रहरीले सम्बन्धित व्यापारीलाई पक्राउ गर्न सफल भएको घटना छैन् । बागमती प्रदेश प्रहरी कर्यालय हेटौंडाका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक दिपक रेग्मीकाअनुसार सिन्धुलीको कमलामाई नगरपालिका ९ भिमानमा र कमलामाई नगरपालिका १४ चन्दनपुरमा कुकुरसहितको प्रहरी चेकिङ गरिएको बताए ।

विशेषतः शुभ दिपावली तथा छठ पर्वलाई लक्षित गरी पटका लगायतका विष्फोटक जन्य पदार्थको ओसारपसारलाई नियन्त्रण गर्ने उद्देश्यले उक्त चेकिङ गरिएको रेग्मीले बताए । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट तालिम प्राप्त कुकुर सहित खटिएको प्रहरी टोलिले विष्फोटक पदार्थ, लागूऔषध ओसारपसार र सम्भावित अवाञ्छित क्रियाकलाप गरी भाग्न सक्ने शंकित व्यक्तिको जाँच गरेको थियो ।बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले विभिन्न राजमार्ग रहेका नाकाहरुमा कुकुरसहितको प्रहरी चेकिङ गर्दै आइरहेको हो । विजया दशमीको समयमा मकवानपुर र चितवनमा गरिएको उक्त चेकिङ निकट भविष्यमा नै काभ्रे र धादिङ जिल्लाका बिभिन्न स्थानहरुमा गरिने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*