बजेट अभावमा ८ वर्षदेखि अलपत्र भलिबल प्रशिक्षण सेन्टर

साझाकुरा
२०७९ आश्विन ३०, आईतवार ०८:३२

हेटौंडा- हेटौंडा–४ स्थित लोकतान्त्रिक मैदान हुप्रचौरमा भलिबल प्रशिक्षण सेन्टर निर्माण कार्य सुरु भएको ८ वर्ष भयो । तर, बजेट अभावको कारण भलिबल प्रशिक्षण सेन्टरको निर्माण कार्य सुस्त गतिमा अगाडि बढिरहेको छ ।बागमती प्रदेशको राजधानी हेटौंडामा निर्माण भइरहेको उक्त भलिबल प्रशिक्षण सेन्टरले ८ वर्षसम्म पनि पूर्णता नपाएको हो । प्रदेश र संघीय सरकारले आवश्यक बजेट विनियोजन नगर्दा आठ वर्षअघि निर्माण सुरु भएको बहुउद्देश्यीय भलिबल कोर्टले हालसम्म पूर्णता पाएको छैन ।करिब साढे दुई कट्ठा क्षेत्रफलमा फैलिएको प्रशिक्षण सेन्टर हालसम्म जालीले घेर्ने र दर्शक बस्न सिमेन्टको प्यारापिटको केही अंश निर्माण भएको छ । जिल्ला भलिबल संघले स्थानीय तहमा जनप्रतिनिधि आएसँगै हेटौंडा उपमहानगरपालिकाको २५ लाख रुपैयाँ सहयोगमा निर्माण कार्य सुरु गरेको हो । हालसम्म प्रशिक्षण सेन्टर निर्माण गर्न करिब ३५ लाख रुपैयाँ खर्च भइसकेको छ ।

जिल्ला खेलकुद विकास समिति मकवानपुरले तीन लाख, तत्कालीन जिल्ला विकास समितिले ५ लाख र भलिबल संघले दुई लाख रुपैयाँ बजेट भौतिक पूर्वाधार निर्माणमा खर्चेका छन् । पछिल्लो समयमा जिल्लामा भलिबल प्रतियोगिताको बाढी नै आएपछि संघले प्रशिक्षण सेन्टर निर्माणलाई तीव्र पार्न लबिइङ गरिरहेको छ । चालु आर्थिक वर्षमा पनि उपमहानगरबाट १५ लाख रुपैयाँ बजेट विनियोजन भएको संघका अध्यक्ष वसन्तकुमार सिटौलाले बताए । उनले प्रदेश र संघीय सरकारले बेवास्ता गर्दा चाहेर पनि छिट्टै योजना पूर्ण गर्न नसकेको गुनासो गरे । प्रशिक्षण सेन्टरलाई इन्डोर वा आउटडोर कुन रूपमा विकसित गर्ने अझै टुंगो लागिसकेको छैन । इन्डोर बनाउनका लागि अझै करिब एक करोड रुपैयाँ खर्च अनुमान गरिएको छ । आउटडोरका लागि ५० लाख रुपैयाँ भए पुग्ने अध्यक्ष सिटौलाले बताए । अध्यक्ष सिटौला प्रदेश र संघीय सरकारको बजेटमा यस योजना समावेश गर्न सकेको खण्डमा सहजै छिट्टै निर्माण सम्पन्न हुने बताउँछन् । प्रशिक्षण सेन्टरमा करिब ३ हजार दर्शक क्षमताको प्यारापिट निर्माण गर्ने लक्ष्य राखिएको छ । सिटौलाले प्रशिक्षक नियुक्त भएसँगै जिल्लाको दसवटै स्थानीय तहमा प्रशिक्षणको व्यवस्था मिलाइने बताए ।

पछिल्लो समय स्थानीय तहमा समेत भलिबल संघ गठन भइरहेका छन् । जसका कारण पनि प्रतियोगिताको संख्या बर्षेनि बढिरहेको छ । दसैंको अवसर पारेर जिल्लाभर असोज महिनामा मात्र १५ भलिबल प्रतियोगिता सञ्चालन भएको संघले जनाएको छ । प्रशिक्षण सेन्टर नहुँदा नियमित प्रशिक्षणमा समस्या भइरहेको भलिबलका पूर्वराष्ट्रिय खेलाडी सन्तोष श्रेष्ठले बताए । ‘१२ महिना प्रशिक्षण गर्न इन्डोर हल आवश्यक पर्छ । यस प्रशिक्षण सेन्टरलाई सोहीअनुरुप विकास गर्नुपर्छ भन्ने हाम्रो माग रहँदै आएको छ,’ उनले महिला र पुरुष भलिबल टोलीलाई नियमित रूपमा प्रशिक्षण व्यवस्था मिलाउन दुइटा कोर्ट आवश्यक रहेको बताए । जिल्ला खेलकुद विकास समिति मकवानपुरका सचिव राजन दाहालले भलिबल प्रशिक्षण केन्द्रको स्तरोन्नति गर्न लामो समयदेखि प्रयत्न गरेको दाबी गरे ।
धेरै राष्ट्रिय खेलाडी उत्पादन गरिसकेको यस हुप्रचौरमा रहेको क्रिकेट र फुटबल मैदानको कथा पनि भलिबल प्रशिक्षण केन्द्रकै जस्तो छ । सरकारले भलिबललाई राष्ट्रिय खेलको रूपमा अगाडि बढाएसँगै यसप्रति युवापुस्ताको क्रेज बढेको पाइन्छ । तर, जिल्लामा भलिबल प्रशिक्षण सेन्टर निर्माण नहुँदा यसले उचाई पाउन सकेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published.


*