हेटौंडामा मनाइयो प्रहरी दिवस, मुख्यमन्त्रीको गुनासो
हेटौंडा- बागमती प्रदेश प्रहरी कार्यालयले हेटौंडामा मनाएको ६७ औं प्रहरी दिवसमा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले संघीय सरकारसँग गुनासो पोखेका छन् । पाण्डेले प्रदेश प्रहरी कार्यालय बागमतीमा समायोजन हुन नसकेको भन्दै गुनासो पोखे । संघीय सरकारले पाँच वर्षसम्म पनि प्रदेश सरकारलाई प्रदेश प्रहरी समायोजन गरेको थिएन् । देशका सातै वटै प्रदेशले प्रदेश समायोजनाका सम्बन्धमा संघीय सरकारलाई दबाब दिँदै आएका थिए । अन्य प्रदेशभन्दा बागमती प्रदेश संघीय सरकारबाट झन हेपाईमा परेको थियो ।
संविधान विपरित संघीय सरकारले उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर)को प्रहरी संघीय मातहत राखेको थियो । तर, संविधानले प्रदेशभित्र प्रहरी परिचालनमा प्रदेश सरकारलाई अधिकारी दिएको थियो ।मुख्यमन्त्री पाण्डेले मुलुक संघीयतामा गएसँगै प्रहरी समायोजन हुन नसक्नु दुःखद् भएको बताए । उनले प्रदेश प्रहरी ऐन बनाए पनि काम गर्न नपाएको गुनासो गरेका हुन् । संघीयता कार्यान्वयनसँगै
प्रहरी प्रदेश सरकार मातहत आउनुपर्ने उनको भनाई छ ।
प्रदेश सरकार छ तर प्रहरी छैन भन्दै पाण्डेले गुनासो पोखे । प्रहरीको उपस्थितिलाई सर्वसाधारणले राज्यको उपस्थितिको रुपमा लिने गरेको पाण्डेले बताए । उनले आफ्नो जिम्मेवारीप्रति प्रतिबद्ध रहन प्रहरी कर्मचारीलाई अनुरोध गरेका छन् । ‘स्मार्ट पुलिस कन्ट्रोल रुम’ बनाउन सहयोग गर्ने निर्णय प्रदेश सरकारले गरेको पाण्डेले जानकाररी दिए ।प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद शर्मा खनालले प्रहरी सरकारको मेरुदण्डको रुपमा रहेको बताए । स्थानीय निर्वाचन जस्तै मंसिर ४ को निर्वाचन पनि स्वच्छ, शान्त र भयरहित वातावरणमा सम्पन्न गराउने गरी भूमिका खेल्न प्रहरी कर्मचारीलाई उनले अनुरोध गरे ।
बागमती प्रदेश प्रहरी कार्यालयकी प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यको सभाध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्री पाण्डे प्रमुख आतिथि थिए । पाण्डेले अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण
गरेका थिए । कार्यक्रममा उपस्थित सबैले अमर प्रहरी स्मारकमा माल्यार्पण गरेका थिए ।उत्कृष्ट प्रदेश प्रहरी प्रमुखबाट प्रहरी नायब महानिरीक्षक बज्राचार्य, उत्कृष्ट प्रदेश प्रहरीबाट प्रहरी नायव उपरीक्षक मधुकुमार थापा र देशभरको उत्कृष्ट जिल्ला ट्राफिकमध्ये मकवानपुरका प्रमुख मुनेन्द्र थापा सम्मानित भएका छन् ।







