हेटौंडामा मनाईदै छठ पूजा, ५० हजार भक्तजन आउने अनुमान

साझाकुरा
२०७९ कार्तिक १३, आईतवार १०:१५

हेटौंडा- हेटौंडामा हरेक वर्ष जस्तै यसवर्ष पनि छठ पर्वको मुख्य दिन, सूर्यको आरधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । आज आइतबार साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिइन्छ ।छठ पूजाको लागि हेटौंडा–१ को राप्तितटको छठघाट लाई चिटिक्क पारेर सजाइएको छ । हेटौंडामा वर्षौदेखि छठ पर्व विशेष रुपमा मनाइँदै आएको छ । विशेषगरी तराईबासीले मनाउने गरेको छठ पर्व पछिल्लो समय हेटौंडामा पहाडी मुलका नागरिकहरुले पनि मनाउन थालेका छन् । छठ पूजाको लागि नदिको छेउमा व्रतालुहरुले पूजा गर्न मण्डप राखेका छन् । राप्तीरोडदेखि नै झिलिमिली बत्ति लगाएर छठ पर्वको तयारी गरिएको छ भने राप्ती पुलनजिक मुल गेट, सहायक गेट बनाइएको छ ।

पूजाको लागि राप्ति बगरमा टेण्ट लगाउने, बत्ती लगाउने, मुर्ती बनाउने जस्ता विविध कार्य गरेर सिंगारिएको छ । छठ पूजाका लागि यहाँका स्थानीय युवा क्लबहरुले टेन्ट र पण्डाल लगाएका छन् । छठ पूजा आयोजक संयुक्त मधेशी सेवा समाज नेपालका सचिव नन्दलाल दासले छठ पूजाको सम्पूर्ण तयारी सकिएको बताए । उनले पूजाको लागि राप्ति बगरलाई विभिन्न श्रृंगारले सजाइएको बताए । दासका अनुसार छठ पूजा गर्ने श्रद्वालु भक्तजन र दर्शकहरुको लागि पण्डाल हालिएको छ । उनले करिब ५० हजार दर्शक र भक्तजन छठ पूजाका लागि राप्तितटमा आउने अनुमान गरिएको बताए ।

यस वर्ष राप्तितटलाई विगतको भन्दा केही फरक ढंगले सिंगारिएको छ । दासका अनुसार यसवर्ष छठ पूजालाई अझ विशेष बनाउनका लागि घोडा चढेको सूर्यदेवको मूर्ति पनि बनाइएको छ । उनले सबै समुदायसँग मिलेर छठ पूजाको तयारी गरिएको बताए । हेटौंडा उपमहानगरपालिका र सडक विभागको सहयोगमा घाट व्यवस्थापन गरिएको उनको भनाई छ । उनका अनुसार छठ पूजाको लागि हेटौंडा उपमहानगरपालिकाले पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले छठ पूजाको लागि विशेष सुरक्षा व्यवस्था गरिएको बताएका छन् । छठ पूजामा धेरै भिडभाड हुने हुँदा विभिन्न घटनाको जोखिम रहेको भन्दै उनले विशेष सुरक्षा व्यवस्था बनाइएको बताए ।

गौतमले छठ पूजाको लागि प्रहरी निरीक्षकको कमाण्डमा १ सय ५५ जना प्रहरी परिचालन हुने जानकारी दिए । म्यादी प्रहरीलाई पनि परिचालन गरिने उनको भनाइ छ । उनले यो वर्ष निःशुल्क रुपमा पार्किङको व्यवस्था रहेकोसमेत जानकारी दिए । छठको अवसरमा सरकारले आज सार्वजनिक विदा पनि दिएको छ । छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ । छठका ब्रतालुले कात्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् । छठको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई
पूजा आरधना गरी अघ्र्य दिइँदैछ । भोलि उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ सम्पन्न हुन्छ । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आरधना गरिएको थियो ।

उक्त समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरुप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुवात भएको विश्वास गरिन्छ । संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । तिनको शक्तिबिना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व
रहन सक्दैन ।

सूर्य किरणको चिकित्सामाथि कैयौं चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । सूर्यको किरणबाट कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ । साम्ब पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आरधनाको फलस्वरुप रोगमुक्त हुन गएको भन्ने चर्चा छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फल चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ । यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्कोबाट व्रत गराउने गर्छन् । आर्थिक अभाव भएका मानिस भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् ।

कात्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कात्तिक शुक्ल पञ्चमीमा सख्खर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई अलिकति ब्रतालुले प्रसाद स्वरुप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ । कात्तिक शुक्लपक्षमा विधिपूर्वक सूर्यको पूजाआराधना गरी अघ्र्य दिएमा चर्म रोग लाग्दैन भन्ने धार्मिक विश्वाससमेत छ । २०४६ सालअघि तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ । २०४६ सालदेखि नै सरकारले यो पर्वका अवसरमा देशभर सार्वजनिक विदा दिने गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*