रहेनन् महासंघ पूर्वअध्यक्ष पाण्डे
हेटौंडा- नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्वअध्यक्ष कौशल पाण्डेको निधन भएको छ । पाण्डेको ७५ वर्षको उमेरमा विहीबार निधन भएको हो । मकवानपुरको पत्रकारितामा लामो समय सक्रिय रहेका पाण्डे पत्रकारिता क्षेत्रमा पाँच दशक समय बिताए । बुढेशकालमा समेत पत्रकारितामा सक्रिय पाण्डे क्रान्तिकारी धारका रुपमा परिचित थिए । २००४ पुस १० गते उदयपुरको सिरुवानीमा जन्मिएका उनी नेपाली पत्रकारिता र शिक्षा क्षेत्रको विकासमा अतुलनीय योगदान पु¥याएवापत थुप्रै पटक सम्मानित भएका छन् । पाण्डे २०५८ साल मंसिर १० गते पत्रकार महासंघ मकवानपुरको अध्यक्ष भएका थिए । उनले पत्रकारिता क्षेत्रलाई व्यवसायिक बनाउन र सञ्चारकर्मीहरुको हितका लागि धेरै काम गरेका थिए ।
पाण्डे पत्रकार महासंघ मकवानपुरको संस्थापक सदस्यसमेत हुन् । मकवानपुरमा २०४४ सालमा महासंघको शाखा विस्तार भएपनि २०४७ सालमा न्हुच्छेमान श्रेष्ठ अध्यक्ष रहने गरी गठित कार्यसमितिमा पाण्डे सदस्य थिए । उनले प्रेस काउन्सिल नेपालको गोपालदास स्मृति पत्रकारिता पुरस्कार पाएका छन् । २०१७ बाट सुरु भएको पञ्चायती व्यवस्थादेखि २०४६ मा आएको प्रजातन्त्र र २०६२÷०६३ सम्मको उथलपुथलपूर्ण इतिहासको साक्षी रहेका पाण्डे साहित्य संगम मकवानपुरको संस्थापक सदस्य भई हालसम्म सल्लाहकारका रुपमा थिए ।नेपाली पत्रकारिता, नेपाली भाषा र कला साहित्यसँग सम्बन्धित तीनवटा कृति प्रकाशित पाण्डेले जीवनका अनेकन पाटाहरुमा कहिले हकर, कहिले सम्पादक भएर त कहिले प्रकाशक भएर जिम्मेवारी बहन गरे ।
पाण्डे २०२८ सालमा पर्साको वीरगंजस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा अध्ययनरत छँदा पत्रिका प्रकाशन गरी गाउँगाउँमा बाँड्थे । पाण्डे २०३९ मा देव श्रेष्ठको नाममा दर्ता भएको कुराकानी र प्रयास साप्ताहिकमा लामो समय सम्पादकीय जिम्मेवारीमा रहे । तीन दशक बढी अध्यापन क्षेत्रमा समेत सक्रिय रहेका पाण्डेको निधनबाट नयाँ पुस्ताले जीवन्त साक्षात्कार गर्ने अवसर गुमाएका छन् ।







