छठ पर्वको शुभकामना
नेपाली समुदायमा विशेषगरी तराइ क्षेत्रमा धुमधामका साथ मनाइने छठ पर्व पहाडी मूलमा भित्रिँदै । पछिल्लो समय सबै समुदायमा यसको आकर्षण बढ्दै गएको छ । नेपालको तराई र भारतको उत्तरी क्षेत्रका हिन्दू समुदायले मनाउने छठ अहिले नेपालका सबैजसो भागमा मनाउन थालिएको छ । छठ पर्व दशैँ, तिहारजस्तै हिन्दूहरुको साझा पर्वका रुपमा सबै मूलका नेपालीले मनाउन थालेका छन् । मुख्य छठ पूजा कात्तिक शुक्ल षष्ठीका दिन गरिने भएकाले यसवर्ष छठ पूजा आज कात्तिक १३ गते परेको छ । छठमा मुख्यरुपमा सूर्यको पूजा गरिन्छ । यसका लागि विभिन्न नदी तथा जलाशयका किनारमा सरसफाई गर्दै रंगीचंगी बनाइन्छ ।
छठ पर्व चार दिनसम्म मनाउने गरिन्छ । नेपालसहित
भारतमा पनि विशेषरुपमा मनाइने छठका लागि आफ्नो घर छाडी विभिन्न ठाउँमा अध्ययन तथा रोजगारीका लागि रहेका, विद्यार्थी र व्यवसायीहरु आफ्नो मूल घर फर्किने गर्दछन् । छठको अन्तिम दुई दिन विभिन्न नदी, खोला, पोखरी, इनार छेउमा सजावट गरी ब्रतालुले जलमा उभिएर कात्तिक शुक्ल षष्ठीको साँझ अस्ताइरहेको र सप्तमीको बिहान उदाइरहेको प्रकृतिको संरक्षणकर्ता सूर्यदेवलाई अघ्र्य दिएर समापन गरिने प्रचलन छ । छठ पर्व तिहारको भाइटीकाको दुई दिनपछि अर्थात् कात्तिक शुक्ल चतुर्दशीदेखि सुरु भई कात्तिक शुक्ल सप्तमीका दिन समाप्त हुन्छ । तराईवासीको चाडका रुपमा बहुचर्चित छठ पर्वमा सूर्यको विविध रुपलाई समान श्रद्धाका साथ मनाउने गरिन्छ । यो पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गरिन्छ । नेपालको विशेषरुपले तराई (मधेश) क्षेत्रमा श्रद्धा एवम् भक्तिपूर्वक यो पर्व मनाइन्छ । यस पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रुपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि ख्वाउने चलन छ ।
परम्पराअनुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अघ्र्य दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अघ्र्य दिई पूजा विसर्जन गरिन्छ । पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ । समावेशी संस्कारले जातीय र भौगोलिक दूरी घट्दै गएका कारण यो पर्व अहिले सबै नेपालीको पर्वका रुपमा विकसित हुँदै गएको छ । यो पर्वले मधेशी र पहाडीबीचको धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता र सौहार्दपूर्ण सम्बन्ध पनि विकसित गर्दै लगेको छ । छठ पर्वले सबै नेपालीमा एकता कायम गर्न सफल होस्, छठको सम्पूर्ण नेपालीमा शुभकामना ।







