आगलागी घटनाः होटलदेखि पाँच वटा तरकारी पसलमा क्षति
हेटौंडा- हेटौंडा उपमहानगरपालिका–१०, स्थित बसपार्क पछाडिको तरकारी बजारमा आगलागी भएको छ । १० कात्तिक अर्थात् भाइटीकाको दिनमा तरकारी बजार नजिकको होटलमा लागेको आगो तरकारी बजारसम्म सिल्किएको थियो ।तरकारी पसलका सञ्चालकहरु भाइटीकाका लागि पसल बन्द गरेर आ–आफ्नो गन्तव्यतर्फ लागेपछि आगलागी भएको थियो । तरकारी पसलसँगै रहेको होटलमा सिलिण्डर पड्किँदा आगलागी भएको हो । भाइटीकाको दिन साढे १२ बजे सिलिण्डर पड्किएको आवाज आएको स्थानीयहरुले बताएका छन् । सुरुमा स्थानीयले तिहारमा पट्का पड्किएको होला भन्ने सोचेपनि तरकारी बजारबाट आगोको मुस्लो देखेपछि आगलागी भएको थाहा पाएर प्रहरीलाई खबर गरेका थिए । प्रहरीलाई खबर हुने बेलासम्म आगो धेरै सल्किएको थियो ।
तरकारी पसले नवराज पौडेलले आगलागी भएको देखेपछि प्रहरीलाई खबर गरे र हेटौंडा उपमहानगरपालिकाको दुई वटा दमकलले आगलागी नियन्त्रणमा लिएको थियो । सशस्त्र प्रहरी, जनपथ प्रहरी र म्यादी प्रहरीसमेतको सहयोगमा आगो नियन्त्रणमा लिएर थप क्षति हुनबाट रोकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । मीना गुरुङले सञ्चालन गरेको होटलको आधा दर्जन सिलिण्डर पड्किएको जनाइएको छ । होटलबाट सुरु भएको आगलागीबाट गुरुङले राखेको नगद र सुनसमेत जलेर नष्ट भएको थियो ।
गुरुङलाई बेहोस भएपछि अस्पताल लगिएको थियो । होटल सञ्चालक गुरुङको करिब २५ लाख बराबरको धनमाल जलेर नष्ट भएको अनुमान गरिएको छ । होटलबाट सल्किएको आगोबाट ५ वटा तरकारी पसल र एउटा होटलमा पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट केशव दाहाल, हरि खुलाल, बद्री घिमिरे, दशरथ महर्जन र भरत खुलालले संचालन गरेको पसलमा रहेको नगद, अन्य सामग्री र तरकारी जलेर नष्ट भएको जनाइएको छ । खुलालको पसलबाट पाँच लाख रुपैयाँ भन्दा बढी पैसा आधामात्रा जलेको प्रहरीले जनाएको छ ।
नेपाल फलफूल तथा तरकारी व्यवसायी संघ मकवानपुरका महासचिव कृष्ण हुमागाईका अनुसार आगलागीबाट डेढ करोडभन्दा बढी क्षतिको आंकलन गरिएको छ ।
तरकारी पसलेले खातापातामा टिपोट गरेर राख्दै आएको हिसाबसमेत जलेको छ । खातापाता जल्दा व्यवसायीहरु समस्या परेको संघले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।







