५१ जुवाडे थपिएपछी प्रहरी हिरासत खचाखच

साझाकुरा
२०७९ कार्तिक १५, मंगलवार ०९:२६

हेटौंडा- आरोपीहरुको ठूलो संख्याभित्र पसेपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासत कक्ष खचाखच भएको छ ।दिपावलीमा मात्रै ५१ जना जुवाडे पक्राउ परेपछि जिल्लाको हिरासत कक्ष खचाखच भएको हो । सोमबार हेटौंडा–११ नवलपुरमा यसअघि पक्राउ परेका ३३ जना जुवाडेलाई भित्र हालेपछि हिरासत भरिएको हो । हाल हिरासत कक्षमा एकसय जना भन्दा बढी आरोपीहरु रहेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । एउटा महिला हिरासत कक्षसहित ५ वटा कोठामा २ सय जना आरोपीसम्म राख्ने हिरासतको क्षमता छ । सोमबार १ सय भन्दा बढी आरोपीहरु थुनामा छन् । जिल्ला प्रहरीको हिरासत लामो समयपछि आधा भरिएको हो । यसअघि ५०–६० जनासम्म आरोपीहरु थुनामा हुने गरेका थिए ।

नवलपुरबाट सोमबार हाजिर भएका ३३ जुवाडेलाई हिरासतमा राखेपछि प्रहरीलाई हिरासत कक्ष व्यवस्थापनमा समस्या परेको थियो । डीएसपी कार्कीले एकैपटक ३३ जना आरोपीलाई थुनामा पठाउँदा व्यवस्थामा कठिनाई भएको साझाकुरालाई बताए । नवलपुरबाट ३३ जना जुवाडेलाई गत मंगलबार राति प्रहरीले पक्राउ परेका थिए । पक्राउ पर्नेहरु सबै नवलपुरका स्थानीय हुन् । उनीहरुलाई भाइटीका लगाउन भनेर प्रहरीले १४ कात्तिक सोमबार उपस्थिति हुने गरी छोडेको थियो । कानुनमा आरोपीहरुलाई सुविधाभोग गर्ने गरी ‘छुट्टी’ दिने व्यवस्था नभए पनि मकवानपुर प्रहरीले ३३ जना जुवाडेलाई पछि हाजिर हुने गरी घर फिर्ता गरेको थियो ।जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका ३३ जना नै सोमबार जिल्ला प्रहरी कार्यालयमा हाजिर भएको डीएसपी कार्कीले जानकारी दिए । उनीहरुलाई जिल्ला अदालत मकवानपुरबाट म्याद थप गरेर हिरासतमा राखिएको उनले बताएका छन्

नवलपुरबाट पक्राउ परेका ३३ र हेटौंडा–६ चौघडाबाट दिपावली सकिएपछि पक्राउ परेका १८ जना गरेर ५१ जना जुवाडे हिरासतमा छन् । ५१ जनाकै जिल्ला अदालतबाट म्याद भएर कानुनी कारबाहीको लागि प्रक्रिया अगाडि बढाइएको डीएसपी कार्कीले बताए ।दिपावली अघि नवलपुरबाट पक्राउ परेका जुवाडेहरुलाई अदालतमा म्याद थप गर्न लगातार विदा परेकाले १४ कात्तिकमा कार्यालय खुलेको दिनमा प्रहरीमा हाजिर हुने गरी चार्डपर्व मनाउनकै लागि प्रहरीले राजनीतिक दबाबमा छोडिदिएको थियो । प्रहरीले सामान्य घटनामा सामान्य पृष्ठभूमि भएका आरोपीलाई यसरी सुविधा प्रदान गर्ने गर्दैन् । जुवाडेमा पक्राउ परेकाहरु सवारीचालकदेखि ठूला व्यवसायीसम्म थिए । पक्राउ परेकाहरुलाई अनुसन्धान गरिरहेका अनुसन्धान अधिकृत र सरकारी वकिलको समन्वयमा आफन्तको जिम्मा जवानीमा छोडिएको डीएसपी कार्कीले बताए ।

नवलपुरका जुवाडेको साथबाट प्रहरीले ७३ हजार रुपैयाँ नगद रकमसमेत बरामद गरेको थियो । ३३ जना बसेको जुवा खालबाट ७३ हजार नगदमात्रै बरामद भएको सूचनापछि कतिपय स्थानीयले आश्चर्य मानेको हल्ला छ । अस्थायी प्रहरी पोष्ट थानाभ¥याङ र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी निरीक्षकको टोलीले हेटौडा–११ नवलपुरस्थित बैकुण्ठ बलामीको घरमा रहेको ग्यारेजमा जुवा खेलिरहेको अवस्थामा ३३ जना र प्रहरीलाई अभद्र व्यवहार गर्ने थप एक जनालाई पक्राउ गरेको थियो । जुवा खालबाट कौडा, तास १३ बुक पनि बरामद भएको थियो । प्रहरीले जुवाडेहरुको नाम सार्वजनिक भने गरेको छैन ।

यसैगरी, हेटौंडा उपमहानगरपालिका–६, स्थित चौघडामा जुवा खेलिरहेका १८ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरी चौकी चौघडाबाट र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले भाइटीकाको भोलिपल्ट राति कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । स्थानीय धुव्र राईको घरमा जुवा खेलिरहेका अवस्थामा प्रहरीले छापा मारेको थियो । उनीहरुको साथबाट कौडा १६ थान, नगद ३१ हजार ८ सय २० रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*