मकवानपुरका १९ मतदान स्थल ‘अति संवेदनशील’

साझाकुरा
२०७९ कार्तिक १६, बुधबार ०९:३२

हेटौंडा- सुरक्षाको दृष्टिकोणले मकवानपुरका १९ वटा मतदान स्थललाई अति संवेदनशीलको सूचिमा राखिएको छ । जिल्ला प्रशासन कार्यालयले ६० वटा मतदान स्थललाई संवेदनशीलमा राखेको हो ।संवेदनशील मतदान स्थलको सूचिमा विकट गाउँपालिका र वडाहरुका मतदान स्थल रहेका छन् । जिल्ला प्रशासनले अति संवेदनशील मतदान स्थलहरुबारे प्रष्ट जानकारी नदिए पनि कैलाश, इन्द्रसरोबर, राक्सिराङ, बागमती, बकैया, भीमफेदीका मतदान स्थलहरु संवेदनशील रहेका हुन् । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा सुरक्षा व्यवस्थाको प्रबन्ध मिलाउने काम भइरहेको छ ।

मतदान स्थलहरुको सुरक्षा स्थिति बुझ्न मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराज निरौला, प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलगायत जिल्लाको पूर्वी क्षेत्रस्थित बागमती र बकैया गाउँपालिकामा अनुगमनमा छन् ।प्रदेश निर्वाचन कार्यालय हेटौंडाका अनुसार मकवानपुरमा ३ लाख ७ सय ३३ जना मतदाता रहेका छन् । जिल्लाको प्रदेशसभा क्षेत्र नम्बर १ को (क) मा ७७ हजार ९ सय ८९ जना र प्रदेशसभा १ को (ख) मा ७२ हजार १ सय ६६ मतदाता रहेका छन् । प्रदेशसभा क्षेत्र नम्बर २ को (क) मा ८३ हजार ९९ जना र प्रदेशसभा २ को (ख) मा ६७ हजार ४ सय ७९ जना मतदाता रहेका छन् । प्रजिअ पाण्डेले पूर्वी क्षेत्रका मतदान स्थलहरुको अनुगमन गरिएको जानकारी दिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाका मतदान स्थलहरुको सुरक्षा व्यवस्थाबारे अध्ययन गरिरहेको हो ।

मकवानपुरको दुई वटा प्रतिनिधिसभा क्षेत्र र ४ वटा प्रदेशसभा क्षेत्रमा गरेर कूल १ सय ६७ मतदान स्थल छन् । जसमध्ये १९ अति संवेदनशील मतदान स्थल र ६० संवेदनशील मतदान स्थलका रुपमा पहिचान गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिएका छन् । सामान्य ८८ मतदान स्थल निर्वाचन क्षेत्रहरुको पहिचान गरेर निर्वाचन मतदान स्थलको सुरक्षा व्यवस्थाको प्रबन्ध मिलाउन सुरु गरिएको पाण्डेले बताए । पाण्डेले जिल्लाको १० वटै स्थानीय तहको निर्वाचन स्थलहरुमा सेना र सशस्त्र प्रहरी बल खटाउन सुरु गरिएको जानकारी दिए । उनका अनुसार जनपथ प्रहरी सुरक्षा पनि खटाइने उनले बताए । प्रजिअ पाण्डेले जिल्लाको मतदान स्थलको अवस्था, भूगोल, सञ्चारको सम्पर्कताको आधारमा क्षेत्रहरुको पहिचान गरिएको र अति संवेदनशील क्षेत्रमा नेपाली सेना खटाइएको बताए । उनले अति संवेदनशील क्षेत्रमा बढी सुरक्षाकर्मी खटाइने बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*