मकवानपुरमा साना दल र स्वतन्त्रको शक्ति कति ?

साझाकुरा
२०७९ कार्तिक १७, बिहीबार १०:३९

हेटौंडा, – मकवानपुरमा आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ठूलादेखि साना दल र स्वतन्त्र उम्मेदवारहरु मतदाताको घरदैलोमा पुगिरहेका छन् ।आ–आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवारहरु मतदाता रिझाउन व्यस्त भइरहेका छन् । ठूला दलहरु निर्वाचन परिचालन र प्रचारप्रसार कार्यालय उद्घाटनसँगै पार्टीका नेता, कार्यकर्ता र मतदातालाई भेटेर फकाइरहेका छन् । साना दल र स्वतन्त्र उम्मेदवारहरु भने मतदाताहरुको घरघर र खेतबारी सम्मै पुगेका छन् । मकवानपुरमा दुई वटा प्रतिनिधिसभा र ४ वटा प्रदेशसभा निर्वाचन क्षेत्र छन् । जसमा ठूला दलमध्ये नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बीचको गठबन्धनका साझा उम्मेदवार, एमाले, राप्रपाका उम्मेदवार मैदानमा छन् । निर्वाचनमा ठूला दलका उम्मेदवारबिरुद्ध हालै स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टीदेखि स्वतन्त्र उम्मेदवारहरु मैदानमा छन् ।

मकवानपुरमा ६९ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्रका लागि दल र स्वतन्त्रबाट ६९ उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ । जसमा प्रतिनिधिसभाका लागि २६ र प्रदेशसभाका लागि ४३ जना मैदानमा छन् । प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ मा २ जना स्वतन्त्रसहित १६ जना र क्षेत्र नम्बर २ मा एक जना स्वतन्त्रसहित १० जनाले उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र नम्बर १ मा स्वतन्त्रबाट स्वतन्त्रबाट सुभाष पौडेल, आइतराम तामाङसहित साना दल राष्ट्रिय स्वतन्त्र पार्टीबाट टाकाराज थापा (सुरेश), मौलिक जरोकिलो पार्टीबाट संगीन श्रेष्ठ, नेपाली कांग्रेस (बीपी)बाट सुरेन्द्र भट्टराई, मंगोल नेशनल अर्गनाइजेशनबाट युवराज लामा, सचेत नेपाली पार्टीबाट पञ्चलाल तामाङ, मालेबाट कृष्णप्रसाद दाहाल, लोकतान्त्रिक समाजवादी पार्टीबाट रुपक लामा, नेमकिपाबाट शान्तलाल भैल, हाम्रो नेपाली पार्टीबाट दीपेन्द्रचन्द ठकुरी, जनता समाजवादी पार्टीबाट ईन्द्रमान थिङ, जन समाजवादी पार्टीबाट मनबहादुर दाहालले उम्मेदवारी दर्ता गराए ।

उनीहरुले प्रत्यक्षतर्फ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’, एमालेको समर्थनमा ‘सूर्य’ चिन्हबाट राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका केन्द्रीय सदस्य दीपकबहादुर सिंहसँग प्रतिस्पर्धा गर्नेछन् । १ नम्बर क्षेत्रमा डीना, थापा र सिंहको रोचक प्रतिस्पर्धा हुने देखिन्छ । यसैगरी, क्षेत्र नम्बर २ मा स्वतन्त्रबाट प्रदीप कालाखेतीसहित साना दल राष्ट्रिय स्वतन्त्र पार्टीबाट भरत पराजुली, (नेमकिपा)बाट रत्नप्रसाद प्रजापति, मंगोल नेशनल अर्गनाइजेशनबाट जीवनस्याङ्तान, सचेत नेपाली पार्टीबाट कुलेन्द्रदीप विक्रम न्यौपाने, मालेबाट उद्धव प्रसाद अधिकारी, नेकपा नेशनलिष्ट पिपल्स पार्टीबाट तुलाबहादुर लामाले उम्मेदवारी दिएका छ।

उनीहरुले २ नम्बर क्षेत्रमा सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका बिरोध खतिवडा, एमालेका महेश बर्तौला राप्रपाका राजन मैनालीसँग प्रतिस्पर्धा गर्नेछन् । २ नम्बर क्षेत्रको निर्वाचनमा खतिवडा, बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका पराजुलीबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । प्रतिनिधिसभामा मात्र नभई प्रदेशसभा निर्वाचनमा पनि ठूला दलका उम्मेदवारबिरुद्ध साना दल र स्वतन्त्रहरु खडा भएका छन् । मतदाताको घरमा पुगेर उनीहरुले ठूला दलका उम्मेदवारहरुका नकारात्मक टिप्पणी धेरै गरेको पाइएको छ । एजेण्डाविहीन साना दल र स्वतन्त्र उम्मेदवारहरुले पनि ठूला दलका उम्मेदवार जस्तै एकअर्काको विरोध गर्ने परिपाटीलाई निरन्तरता दिएको देखिन्छ ।

स्वतन्त्र उम्मेदवारी दिएका केहीमात्रै निर्वाचनको तीव्र तयारीमा छन् भने केही गुमनाम छन् । कतिपयले नामकै लागि मात्रै उम्मेदवारी दर्ता गराएको राजनीतिक वृतमा चर्चा छ । मकवानपुर यस्तो जिल्ला हो, जहाँ २०४६ सालको बहुदलपछि भएका पाँच वटा निर्वाचनमा कम्युनिष्टका उम्मेदवारहरु मात्रै बिजयी भए । २०७० को संविधानसभा सदस्य निर्वाचनमा भने नेपाली कांग्रेसले मकवानपुरमा खाता खोलेको थियो । अधिकांश निर्वाचनमा एमाले उम्मेदवार बिजयी भए । २०६४ मा भएको संविधानसभा निर्वाचनमा कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उम्मेदवारहरु निर्वाचित भए ।

यसरी, ठूला दलहरुले चुनाव जित्दै आएको मकवानपुरमा ठूला दलका उम्मेदवारबिरुद्ध करिब दर्जनको संख्यामा साना दल र स्वतन्त्र उम्मेदवारहरु खडा भएका हुन् । जसमध्ये साना दल र स्वतन्त्रहरुको शक्तिको यथार्थ स्थिति छैन । तर, राजनीतिक वृतमा भएका अध्ययन र बहसलाई आधार मान्दा ठूला दलका उम्मेदवारअगाडि साना दल र स्वतन्त्र उम्मेदवारहरु शक्तिहीन छन् । बहुदलपछि मकवानपुरमा साना दल र स्वतन्त्र उम्मेदवारहरुले निर्वाचन जितेको रेकर्ड छैन । जसकारण पनि उनीहरुको शक्ति कमजोर देखिन्छ ।
तर, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेश थापा र भरत पराजुली यसलाई अस्वीकार गर्छन् ।

पराजुलीले २ नम्बर क्षेत्रमा आफ्नो जीत पक्का रहेको बताए । रवि लामिछाने नेतृत्वको पार्टीपछि जनताले धेरै विश्वास गरेको र आफू लामो समयदेखि २ नम्बर क्षेत्रकै सामाजिक कार्यमा सक्रिय भइरहेको भन्दै निर्वाचन जित्न अप्ठेरो नभएको बताए । १ नम्बर क्षेत्रका उम्मेदवार थापाले पनि जनताले परिवर्तन चाहेको बताए । १ नम्बर क्षेत्रका जनताले धेरै पटक ठूला दललाई हेरेको भन्दै आगामी निर्वाचनबाट परिवर्तन खोजेको पाइएको उनले बताए । आ–आफ्नो निर्वाचन क्षेत्रमा उपस्थिति कमजोर नभएको थापा र पराजुलीको दाबी छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*