भैरबडाँडामा आतंक मच्चाएको बाघ समात्न क्यामेरा जडान

साझाकुरा
२०७९ कार्तिक १७, बिहीबार १०:४६

हेटौंडा- हेटौंडा उपमहानगरपालिका–१, स्थित भैरबडाँडामा विगत तीन दिनदेखि आतड्ढ मच्चाइरहेको पाटेबाघ र दुई वटा बच्चा (डमरु) समात्न स्वचालित क्यामेरा जडान गरिएको छ ।१ नम्बर वडा कार्यालयको पहलमा राष्ट्रिय प्रकृति संरक्षण कोष चितवन, डिभिजन वन राप्ति र सव डिभिजन वन सान्नानीटारले बुधबार बाघ डुलिरहेको वन क्षेत्रमा चारवटा क्यामेरा जडान गरेको छ । २ वटा क्यामेरा भैरव सामुदायिक वनमा र २ वटा क्यामेरा डाङडुङे सामुदायिक वनमा राखिएको हेटौंडा–१ का वडा अध्यक्ष तथा उपमहानगरका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए । न्यौपानेसहितको टोलीले बुधवार दिउसो दुबै वन क्षेत्रमा बाघको खोजी गरेको थियो । खोजी गर्दा बाघ नभेटिएपछि राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक रमेश दराईले क्यामेरा जडान गरेका छन् ।

दराईका अनुसार हालसम्म बाघको खोजीमा प्रयोग गरिएको ‘क्यामेरा ट्रयापिङ’ विधिले शत्प्रतिशत नतिजा दिएको छ । क्यामेराको सहायताबाट बाघ भेटिने दराईले विश्वास दिलाएका छन् । क्यामेराको सहायताबाट बाघको बासस्थान पत्ता लगाई कोषका प्राविधिकहरुले सुरक्षितसँग बाघलाई नियन्त्रणमा लिने योजना बनाएका छन् । बाघ भेटिए चितवन राष्ट्रिय निकुञ्जमा लगेर छोडिने जनाइएको छ । पाटे बाघलाई विश्व सम्पदा सूचीमा राखेर संरक्षण गरिँदै आएको छ । भैरबडाँडाका स्थानीयले जितसक्दो छिटो बाघलाई नियन्त्रणमा लिइदिन अपिल गरेका छन् । स्थानीय विनोद सापकोटाका अनुसार बाघको आतड्ढले तीन दिनदेखि भैरब डाँडाबासी त्रासमा बाँचिरहेका छन् ।भैरबडाँडामा रहेको अस्थायी प्रहरी पोष्टमा खटिएका प्रहरीले पनि बाघ देखिएको पुष्टि गरेका छन् ।

मंगलबार साँझ पोष्टनजिकैबाट बाघ वनक्षेत्रमा पसेको स्थानीयहरुले बताए । बाघले यसअघि रुपा तिमल्सिनाको दुई बाख्रा र एकतारे सामुदायिक वनभित्र अर्का एक जना स्थानीयको गोठमा बाँधिरहेको गाई मारेको छ । बाघले गाईलाई गोठबाटै लगेको सापकोटाले बताए । स्थानीयहरुको समूहले गाईलाई मृत अवस्थामा वन क्षेत्रमा फेला परेका थिए । बाघ साँझ परेपछि भैरबडाँडास्थित वस्ती क्षेत्रमा प्रवेश गर्ने गरेको स्थानीय सापकोटाले जानकारी दिए । ‘दिनभरि बाघ वन क्षेत्रमै जाँदो रहेछ । साँझ परेपछि वस्तीमा आउँछ ।

तीन दिनदेखि लगातार रातिको समयमा बाघलाई घरनजिकै देखेका छौं,’ उनले भने । भैरबडाँडाबासी साँझ ६ बजेपछि घरमा ढोका लगाएर बस्न बाध्य भएको सापकोटा बताउँछन् । बाघले हालसम्म मानवीय क्षति भने नपु¥याएको उनको भनाइ छ ।आइतबार बाघले आतड्ढ मच्चाउन सुरु गरेपछि भैरबडाँडाबासीले सामूहिकरुपमा रातभर गाउँमा गस्ती गरेको सापकोटाले बताए । स्थानीयले बाघ नियन्त्रणमा लिइदिन जिल्ला वन कार्यालय मकवानपुरलाई खबर गरेका थिए । वनको टोलीले सोमबार बिहानदेखि गाउँमा खोजी गर्दा पनि बाघ नभेटिएको उनले सुनाए । ‘पाटेबाघ नै हो । मेरो आँखाले प्रत्यक्ष देखेको हो । यो बाघलाई तत्काल नियन्त्रणमा नलिए थप क्षति नहोला भन्न सकिन्नँ’, उनी भन्छन् । हेटौंडा–१, स्थित पाथिभरा मन्दिरनजिक रहेको डाङडुङे सामुदायिक वनमा पाटे बाघ घुमिरहेको स्थानीयहरुले बताएका छन् ।

डाङडुङे सामुदायिक वनमा स्थानीयहरु घाँस, दाउरा गर्न आउने भएकाले थप खतरा बढेको छ । बाघ हिँडडुल गरिरहेको खबरपछि घाँस, दाउरा गर्न स्थानीयहरु वन जान छोडेको जनाइएको छ । बाघ विगतका वर्षमा पनि देखिने गरेको उनले बताए । सौराहबाट बाघ बस्तीसम्म आइपुगेको स्थानीयहरुको अनुमान छ । चितवनको सौराहदेखि हेटौंडासम्मै जंगल क्षेत्र रहेको छ । वडा कार्यालयले बाघदेखि सुरक्षित रहन स्थानीयहरुलाई आग्रह गरेको वडाध्यक्ष न्यौपानेले बताए । संरक्षित बाघलाई कुनै क्षति गर्न नदिई नियन्त्रणमा लिने काम भइरहेको उनको भनाइ छ । बाघलाई क्षति गर्न नदिन स्थनीयहरु नै सुरक्षित तवरबाट बस्नुको विकल्प नरहेको उनी बताउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*