पत्रकार महासंघको साधारणसभा स्थगित

साझाकुरा
२०७९ कार्तिक १७, बिहीबार १०:४९

हेटौंडा- नेपाल पत्रकार महासंघ मकवानपुरको १७ औं साधारणसभा स्थगित गरिएको छ । महासंघ मकवानपुरका पूर्वअध्यक्ष कौशल पाण्डेको निधन भएकोमा महासंघले शोक व्यक्त गर्दै निर्धारित कार्यक्रमहरु स्थगित गर्ने निर्णय गरेको हो । महासंघको साधारण सभा कात्तिक १९ गतेलाई तोकिएको थियो । महासंघ मकवानपुरको बुधबार आयोजित कार्यसमिति बैठकले पूर्वअध्यक्ष पाण्डेको निधनमा शोक प्रस्ताव पारित गर्दै १९ गतेको साधारणसभा २५ गतेसम्मलाई स्थगित गर्ने निर्णय गरेको महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले जानकारी दिए । शोकको कारण कात्तिक २१ गतेलाई निर्धारण गरिएको एड्भान्स पत्रकारिता तालिमसमेत स्थगित गरिएको गौतमले बताए । पाण्डेको निधनको शोकमा महासंघ मकवानपुरले बुधबार श्रद्धाञ्जली सभासमेत आयोजना गरेको छ ।

महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा भएको श्रद्धाञ्जलीसभामा पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खड्का, महासंघ बागमती प्रदेशका निवर्तमान अध्यक्ष प्रताप विष्ट र नवराज शर्माले पाण्डेको व्यक्तित्व र पत्रकारितामा गरेको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल, महासचिव कृष्ण सारुमगर, नेपाल पत्रकार महासंघ मकवानपुरका निवर्तमान अध्यक्ष हरि हुमागाई, प्रेस चौतारी नेपालका बागमती प्रदेश महासचिव प्रकाश दाहाल, स्वतन्त्र पत्रकार संघका केन्द्रीय सचिव सुरेश श्रेष्ठ, प्रेस सेन्टर नेपाल मकवानपुरकी अध्यक्ष अन्जली थापा, प्रेस युनियन मकवानपुरका अध्यक्ष पोष्टराज अधिकारी (कुमार), स्वतन्त्र पत्रकार संघ मकवानपुरका अध्यक्ष गोकुल अधिकारीलगायतको उपस्थिति रहेको थियो । महासंघ मकवानपुरका पूर्वअध्यक्ष पाण्डेको ७५ वर्षको उमेरमा गत कात्तिक १० गते निधन भएको थियो । महासंघको नेतृत्वमा बुधबार नै पाण्डेको परिवारलाई भेट गरी समवेदना प्रकट गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*