निर्वाचनमा मिडिया र पत्रकारको भूमिकाबारे अभिमुखीकरण
हेटौंडा- आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा मिडिया र पत्रकारको भूमिकाबारे मकवानपुरका सञ्चारकर्मीहरुलाई एकदिने अभिमुखीकरण दिइएको छ । बागमती प्रदेश निर्वाचन आयोगको आयोजनामा मिडियाको भूमिकाबारे मकवानपुरका सञ्चारकर्मीहरुलाई अभिमुखीकरण दिइएको हो । कार्यक्रममा बोल्दै मकवानपुरको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले मकवानपुरमा निर्वाचन निष्पक्ष र भयरहित ढड्डबाट सम्पन्न हुने विश्वास व्यक्त गरे । पाण्डेले मकवानपुरमा अहिलेसम्म कुनै राजनीतिक दल र उम्मेदवारहरुले आचारसंहिता उल्लंघन भयो भनी उजुरी नआएको बताए । मतदानका लागि चल्न पाउने सवारी साधनको हकमा केही दिनमै निर्णय गरिने उनको भनाइ थियो ।
कार्यक्रममा बागमती प्रदेश निर्वाचन आयोगका प्रमुख लुम्बनाथ पोखरेलले निर्वाचनमा मिडिया र पत्रकारको भूमिकाबारे जानकारी गराएका थिए । उनले संचार माध्यमहरुले समाचार प्रकाशन वा प्रसारण गर्दा निर्वाचन आचारसंहिता पालना गर्नुपर्ने बताए । कुनै स्वार्थका आधारमा संचार माध्यमले मतदाता प्रभावित पार्ने खालको भ्रामक सूचना प्रकाशन र प्रसारण गर्न नहुने पोखरेलको भनाइ थियो । कार्यक्रममा मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौला, निर्वाचन अधिकृत मुकुन्दहरि पौडेल, आचारसंहिता अनुगमन अधिकृत रमेश अर्याल, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख तथा प्रहरी उपरीक्षक बामदेव गौतम र सशस्त्र प्रहरी उपरीक्षक नेत्रबहादुर कार्कीको उपस्थिति थियो । मकवानपुरमा एक सय ६७ मतदान स्थल र ३ सय ६४ मतदान केन्द्र छन् । जसमा १९ मतदान केन्द्र अति संवेदनशिल र ६० वटा मतदान केन्द्र संवेदशिल छन् ।







