१० वटै स्थानीय तहमा मतदाता शिक्षा सुरु

साझाकुरा
२०७९ कार्तिक १९, शनिबार ०९:०२

हेटौंडा- मंसिर ४ गते हुने आम निर्वाचन नजिकिएसँगै मकवानपुरका स्थानीय तहहरुमा मतदाता शिक्षालाई तीव्रता दिएका छन् । निर्वाचनको मिति नजिकिएसँगै जिल्लाको १० वटै स्थानीय तहको १०२ वटै वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको हो । मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जिल्लाका स्थानीय तह मार्फत् प्रत्येक वडामा स्थानीय तहले सबै खर्च बेहोर्नेगरी मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको जानकारी दिए । उनले चुनावमा मतदातालाई सक्रिय सहभागी
गराउन र मत बदर हुन नदिन आयोगले मतदाता शिक्षा कार्यक्रम सुरु गरेको बताए । आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा चुनावका लागि आयोगले शुक्रबारदेखि मतदाता शिक्षा घरदैलो कार्यक्रम सुरु गरेको छ । वडा तहसम्म हुने यो कार्यक्रमका लागि स्वास्थ्य स्वयंसेविकालाई खटाइएको छ ।

कार्यक्रम सञ्चालन गर्न हरेक वडामा स्वयंसेविका परिचालन गरिएको निरौलाको भनाइ छ । स्वयंसेविकालाई मतदाता शिक्षा सामग्रीसहित जिल्ला निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले पालिकामार्फत् हरेक वडामा खटाएको हो । एक जना स्वयंसेविकाले १५ जनाको समूहमा दुईवटा ब्रोसरबाट मतदान गर्ने, मतपत्र मतपेटिकामा खसाल्ने, मतदान केन्द्रसम्म पुग्नेलगायत विषयमा जानकारी दिनेछन् ।निर्वाचन नजिकिँदै गर्दा मतदाता शिक्षा सुरु भएसंगै निर्वाचनको महौल अझै बढ्दै गएको छ । उम्मेदवारहरु मत माग्न व्यस्त छन् । आयोग तयारीमा जुटेको छ । मतदाताहरु उम्मेदवार र दलको घोषणा र भाषण सुनेर कसलाई मत दिने भन्ने विषयमा चोकचोकमा गफिन व्यस्त छन् । चुनाव आउन अब १५ दिन बाँकी छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*