उम्मेदबार बर्तौलाको भाषणप्रति घेदुङको आपत्ति

साझाकुरा
२०७९ कार्तिक १९, शनिबार ०९:१४

हेटौंडा- मकवानपुर–२ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार महेश बर्तौलाले चुनावी अभियानका क्रममा बोलेको भाषण विवादित बनेको छ । केहि दिनअघि तामाङ समुदायमाझ बोल्दै उनले ‘आइरक सुङरी भोट दिनिरी’ भन्ने अभिब्यक्ति दिएका थिए । बर्तौलाकै फेसबुकमा राखिएको भिडियोमा तामाङ भाषामा ‘रक्सी खाएर सूर्यमा भोट हालौँ’ भन्दै मतदाताहरुलाई आग्रह गरेको भन्दै आदिवासी, जनजाति तथा तामाङ समुदाय रुष्ट बनेका हुन् ।

उनको सम्बोधनले आम आदिवासी, जनजाती तथा तामाङ समुदाय केवल रक्सीमा बिक्ने समुदाय हो भन्ने भाव झल्किने निकृष्ट शब्द प्रहार भएको भन्दै नेपाल तामाङ घेदुङ मकवानपुरले आपत्ति जनाएको छ । सदियौंदेखि रहेको जातीय छुवाछुत, भेदभाव, शोषणबाट मुक्तिका लागि आदिबासी जनजाती समुदायले एकत्रित भई पु¥याएकोे योगदान अनि अथक संघर्षबाट नेपालको संविधानमा वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछुत एवम् भेदभावको अन्त्य गरी समतामूलक समाजको निर्माण गर्ने संकल्प गरिएको भएपनि उम्मेदवारबाटै कुनै समुदायप्रति निकृष्ट शब्द प्रहार भएको भन्दै घेदुङले आपत्ति जनाएको हो ।

‘जनताको पीर, मर्का र अप्ठेरोमा साथ दिनुपर्ने जातजाती भाषाभाषीप्रति समान भाव जगाई सामाजिक एकता कायम गर्न भूमिका खेल्नुपर्ने प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारबाटै हामी तामाङ समुदायप्रति यतिसम्मको निकृष्ट सोचको कल्पनासम्म नगरिएको अवस्थामा चुनावी अभियानकै क्रममा ब्यक्त उल्लेखित भनाइप्रति नेपाल तामाङ घेदुङ संघ, मकवानपुर खेद प्रकट गर्दछ’ विज्ञप्तिमा भनिएको छ । घेदुङले निर्वाचन आयोग, जिल्ला प्रशासन कार्यालय मकवानपुर र निर्वाचन आचारसंहिता अनुगमन समितिसमक्ष बर्तौलालाई कारबाहीको मागसमेत गरेको छ । आम समुदायमाथि आघात पुग्ने यस किसिमको अभिव्यक्ति नदिन र समाजिक एकता तथा सहिष्णुता कायम राख्नसमेत घेदुङले सबैलाई आग्रह गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*