गाँजालाई वैद्य बनाउने आश्वासन दिएर भोट माग्दै उम्मेदवार
हेटौंडा- राष्ट्रिय राजनीति र स्थानीय विकासका मुद्दालाई प्राथमिकतामा राखेर उम्मेदवारहरुले चुनाव प्रचार गरिरहेका छन् । मतदाताको चाहनाअनुसार चुनावी एजेण्डा बनाउने नेताहरुको शैली पुरानै हो । मकवानपुर–२ का उम्मेदवार भने गाँजा खेतीलाई वैधानिकता दिने आश्वासन बाँड्दै भोट मागिरहेका छन् । एमालेमा रहँदा २०४८ पछिका चारवटा निर्वाचनमा जितेका विरोध खतिवडा अहिले एकीकृत समाजवादीबाट मकवानपुर क्षेत्र नं. २ का उम्मेदवार छन् । उनकै पूर्वपार्टी एमालेले महेश बर्तौलालाई प्रतिस्पर्धामा उतारेको छ । कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका भरत पराजुली र राप्रपा उम्मेदवार राजन मैनाली पनि यो क्षेत्रमा चर्चित छन् । निर्वाचनलक्षित घरदैलो थालेका केही उम्मेदवारले अवैध गाँजा खेतीलाई वैधानिक बनाउने आश्वासन दिइरहेका छन् ।
राक्सिराङ र कैलाश गाउँपालिका जिल्लाकै विकट गाउँपालिका हो । यी गाउँपालिकामा सिमान्तकृत चेपाङ र जनजातीको तामाङ समुदायको बसोबास छ । मकवानपुरको कर्णाली भनेर चिनिने विकासले पछि परेको यी दुई गाउँपालिकाका बासिन्दा शिक्षा, स्वास्थ्य, रोजगारबाट मात्रै होइन गाँसबासको लागि पनि संघर्षरत् छन् । चेतनाको कमि
रहेको त्यस क्षेत्रमा अवैध लागूऔषध गाँजा र चरेस उत्पादन र बिक्रि वितरण हुने गरेको छ । प्रहरीले वर्षेनि हजारौं प्रहरी परिचालन गरेर त्यहाँ लगाइएको गाँजा र चरेशजस्ता लागूऔषध फँडानी गर्ने गरेको छ । केहि हजारको प्रलोभनमा परेर गाँजा ओसारपसार गर्न पुगेका सो स्थानका सयौं जना भीमफेदी कारागारमा कैदी जीवन काटिरहेका छन् ।
बेरोजगारीले पिल्सिएका त्यहाँको चेपाङ र तामाङ समुदायको बासिन्दाहरु केहि हजार पाउने आशमा निश्चित दूरीसम्म गाँजा ओसारपसार गर्न तयार हुन्छन् र प्रहरीको फन्दामा पर्छन् । जसले गर्दा हालसम्म उक्त गाउँपालिकाको हरेक टोलका सयौं युवाहरु भीमफेदी कारागारमा पुगेका छन् । गाँजाको समस्याले ग्रसित उक्त क्षेत्रको बासिन्दालाई अवैद्य गाँजालाई वैद्य बनाउने आश्वासन बाँढ्दै भोट माग्न उम्मेदवाहरु गाउँ पुगिरहेका छन् । मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन मकवानपुरको निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएकाहरु गाँजालाई वैद्य बनाउने आश्वासन बाँढ्दै भोट माग्न व्यस्त भएका हुन् । जिल्लाको पुरानादेखी नयाँसम्मका सबै उम्मेदवारहरुले यतिबेला मकवानपुरको निर्वाचन क्षेत्र नम्बर २ को विकट गाउँमा रहेको गाँजालाई चुनावी एजेण्डा बनाइरहेका हुन् । नेपालको कानुनले अवैध लागूऔषध भनेको गाँजालाई उम्मेदवारहरुले वैद्य बनाउने आश्वासन दिँदै भोट मागिरहेका छन् ।
यसअघिको निर्वाचनमा पनि उनले गाँजालाई वैद्य बनाउने आश्वासन नदिएका होइनन् । तर, उक्त आश्वासन पुरा गर्न भने सकेका छैनन् । खतिवडाले यो निर्वाचन क्षेत्रबाट चुनाव जितेर गएपछि संसदमा गाँजालाई वैद्य गराउनुपर्छ भनेर आवाज उठाएका थिए । उनले विश्वका विभिन्न विकसित मुलुकमा गाँजा वैद्य रहेको यसलाई औषधिको रुपमा प्रयोग गर्ने गरेको भन्दै नेपालमा पनि वैद्य गराउनुपर्ने बताएका थिए । उनले संसद्मा यसलाई वैद्य बनाउन प्रस्ताव पनि गरेका थिए । तर, त्यो बिचाराधीन अवस्थामा छ । अघिल्लो निर्वाचनमा बाँडेको आश्वासन लिएर यो निर्वाचनमा पनि उनी होमिएका छन् । ‘मकवानपुरमा उत्पादित गाँजालाई वैद्यानिक ढंगले अन्तर्राष्ट्रियकरण गर्नपर्छ’, खतिवडा भन्छन् । यसबाट नेपाली किसानको आयआर्जन बढाउन सक्ने उनको दाबी छ ।
यस्तैगरी, राप्रपाबाट सोही निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभाको उम्मेदबार राजन मैनाली पनि यतिबेला गाँजाको आश्वासन बोकेर गाउँमा भोट मागिरहेका छन् । उनी गाँजाबाट गाउँका बेरोजगार युवालाई रोजगार बनाउनेसम्मको कुरा भाषणमा बोलिरहेका छन् । लागूऔषध मानिदै आएको गाँजालाई अन्तर्राष्ट्रियकरण गरेर आफ्नो क्षेत्रको विकास गर्ने उनको दाबी छ । गाँजा बहुउपयोगी, वातावरणमैत्री र कम खर्चमा उत्पादन हुने भएकाले यसको व्यावसायिक खेतीबाट जनताको आर्थिक विकास गर्ने उनको दाबी छ । गाँजाबाट समग्र देशकै विकास गर्न सक्ने उनको भनाइ छ । उनले आफू बिजयी भएमा गाँजा उत्पादन, ओसारपसार र सेवन गरेकै कारण जेलमा परेकाहरुलाई आफ्नो
पारिश्रमिक दिनेसम्मको प्रतिवद्वता जनाएका छन् ।
मैनालीले हाल मकवानपुरमा ‘जय देश, जय चरेश’ नारासहित चुनावी अभियान नै सञ्चालनसमेत गरिरहेका छन् । उनले आफू निर्वाचित भएपछि एक वर्षभित्र सरकारसँग लडेर भएपनि गाँजालाई वैद्यानिक बनाउनुको साथै कारागारमा रहेकाहरुलाई छुटाउनेसम्मको आश्वासन बाढ्न भ्याएका छन् । एमालेबाट सोही क्षेत्रमा उम्मेदवार बनेका युवा नेता महेश बर्तौला पनि गाँजाको उत्पादनलाई विकासतर्फ जोड्न सक्ने बताउँछन् ।
गाँजा खेतीलाई वैध बनाउने विषयमा संसद्मा कुरा उठे पनि टुंगो लागिसकेको छैन । गाँजा खेतीलाई वैधानिकता दिने विषयमा दलहरुबीचमा थप छलफल आवश्यक छ । नेपालमा गाँजालाई अवैध लागूऔषध मानिन्छ । त्यसैले गाँजा खेती पनि गैरकानूनी हो । कानुनका जानकार उम्मेदवारहरुले नै मतदाता रिझाउन गाँजालाई कानुनी बनाउने मुद्दा बनाइरहेका छन् । प्रायः उम्मेदवारले प्राथमिकतामा राखेको गाँजा खेतीलाई कानुनी बनाउने एजेण्डा पूरा गर्न सहज भने छैन ।







